सुदूरपश्चिमको बजेट अर्काे साता मात्रै प्रदेशसभामा टेबल हुने

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते मध्यराती प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल अव अर्काे साता मात्रै हुने बताइएकाे छ । बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आगामी २३ गते बिहान ११ बजे प्रदेश सभाको बैठक आह्वान गर्ने सहमति गरेकोले बजेटमाथिको छलफल त्यसपछि मात्रै हुने भएकाे हाे।

२३ गते बस्ने बैठकमा सरकारले बजेटमाथिको छलफलका लागि टेबल गर्ने र त्यसपछि मात्रै छलफल प्रक्रिया सुरु हुने सभामुख भीम भण्डारीले जानकारी दिए । सरकारले ल्याएको ३७ अर्ब ७० करोड रुपैयाँको बजेटमाथि तीव्र विवाद देखिएको छ । सत्तारूढ दल नेकपा (एमाले) ले यथास्थितिमा बजेट पारित हुन नदिने अडान सार्वजनिक गरिसकेको छ भने सरकारकाे नेतृत्व गरिरहेकाे नेपाली कांग्रेसभित्र पनि बजेटलाई लिएर तीव्र मतभेद छ ।

यसअघि नै प्रमुख प्रतिपक्षी नेकपाले बजेट जनताको आशा–अपेक्षा सम्बोधन गर्ने नभई दलाल, बिचौलिया र कार्यकर्ता पोस्ने किसिमले ल्याइएकोले अस्वीकार गर्ने बताइसकेकाे थियाे ।सरकारमै सहभागी दलले विरोध जनाउँदा बजेट पारित हुने सम्भावना क्षीण रहेको प्रमुख प्रतिपक्षी नेकपा संसदीय दलका नेता खगराज भट्टले बताए ।

सुदूरपश्चिममा बजेटलाई लिएर सत्ता गठबन्धनभित्रै तीव्र मतभेद देखिएका बेला केन्द्रमा समेत वैकल्पिक राजनीतिक समीकरणबारे छलफल भइरहेको छ । 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.