धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि छलफल हुनुपर्नेमा सरकारले अझैसम्म बजेट प्रदेश सभामा टेबुल गर्न सकेको छैन । बजेटप्रति सत्तापक्षकै व्यापक असन्तुष्टि देखिएपछि प्रदेश सरकारले बजेट प्रस्तुत भएको दुई सातासम्म पनि सभामा टेबुल गर्न नसकेको हो ।
प्रतिपक्षले सरकारको बजेट नै असफल पार्ने चेतावनी दिइरहेका बेला सत्ता साझेदार दल नेकपा (एमाले) ले बजेट संशोधनका लागि प्रदेश सरकारलाई दबाब दिएको छ । बजेट संशोधन नगरिए सो पार्टीले सरकारबाट बाहिरिने यसअघि नै उद्घोष गरिसकेको छ । प्रदेश सरकारले असार १ गते मध्यरातमा आगामी आव २०८३/८४ को बजेट सभामा प्रस्तुत गरेको थियो । मध्यराति बजेट प्रस्तुत गरिएका कारण बजेटसँग सम्बन्धित विनियोजन विधेयक र अर्थ विधेयक भने सभामा टेबुल गरिएन ।
असार १५ बितिसक्दासम्म बजेट नै टेबुल नभएकाले बजेटमाथि छलफलका लागि सभाको बैठकको टुङ्गो नलागेको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले बताए । प्रदेश सभामा बजेटमाथि छलफलका लागि सरकारले बजेट सभामा टेबुल गर्नु पर्दछ । बजेटको आयव्ययसम्बन्धीको विनियोजन विधेयक र राजस्व सङ्कलनसम्बन्धीको अर्थ विधेयक टेबुल गरिएपछि ७२ घण्टाको संशोधनको समय रहने गर्छ । ७२ घण्टापछि मात्रै बजेटमाथि छलफल सुरु हुने गरेको जनाइएको छ ।
सरकारले बजेट असफल हुने डरले प्रदेश सभामा टेबुल नगरिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी नेकपाका प्रदेश सभा सदस्य एवं सार्वजनिक लेखा समितिका सभापति अक्कलबहादुर रावलले बताए । प्रदेश सरकारले आगामी आवका लागि ३७ करोड ७० लाख रुपियाँको बजेट प्रस्तुत गरेको थियो ।