सुदूरपश्चिममा प्रतिपक्षी दल नेकपाले माग्याे बजेटकाे पूर्ण पाठ

बजेटमाथि छेडछाडको आशंका

धनगढी । सुदूरपश्चिममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले बजेट वक्तव्य माग गर्दै अर्थ मन्त्रालय र सभामुखलाई पत्र दिएको छ । दलका उपनेता प्रकाश रावलले प्रदेशसभामा प्रस्तुत गरिएको बजेट वक्तव्य तथा त्यससँग सम्बन्धित विधेयकहरु अध्ययनका लागि उपलब्ध गराउन निवेदन दिएका हुन् ।

यसैबीच नेकपाका प्रमुख सचेतक खुसीराम चौधरीले सभामुखलाई पत्र लेख्दै बजेट वक्तव्य, दर्ता भएका विधेयक तथा बजेटसँग सम्बन्धित अन्य कागजात अध्ययनका लागि उपलब्ध गराउन माग गरेका छन्। पत्रमा भनिएको छ, ‘सुदूरपश्चिम प्रदेश सभामा प्रदेश सरकारद्वारा प्रस्तुत बजेट वक्तव्य तथा यससँग सम्बन्धित दर्ता भएका विधेयक र पत्रहरू अध्ययन प्रयोजनका लागि उपलब्ध गराइदिन अनुरोध गर्दछु।’

प्रदेशसभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विक्रम धामीले चालु र पूँजीगततर्फ कति रकम छुट्याइएको छ भन्ने स्पष्ट विवरण भनेका थिएनन् । यस्तै मन्त्रालयगत रुपमा रकम बाँडफाँट पनि वक्तव्यमा गरिएको थिएन । बजेटमा सत्ता साझेदार एमाले र काङ्ग्रेसबिच विवाद भएको थियो । सोही विवादले बजेट पूर्ण रुपमा लेखन नभई प्रस्तुत गरिएको बताइएको छ । जसले गर्दा पूर्णपाठ पनि अझै सार्वजनिक गरिएको छैन ।

प्रदेशसभामा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य अझै सार्वजनिक गरिएको छैन । सोमबार मध्यराति प्रदेशका आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले ३७ अर्ब ७० करोडको वार्षिक बजेट प्रस्तुत गरेका थिए । तर, अहिलेसम्म उक्त बजेट वक्तव्य सार्वजनिक नगरिएको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.