धनगढी । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेपाली कम्युनिष्ट पार्टीका नेताहरु बिहीबार धनगढी आउँदैछन् । नेकपा सुदूरपश्चिम प्रदेश समितिले आयोजना गर्न गइरहेको प्रदेशको परामर्श बैठक प्रदेश समितिको बैठक, प्रशिक्षण कार्यक्रमका लागि नेकपाका शीर्ष नेताहरु धनगढी आउन लागेका हुन्।
पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल बुधवार नै धनगढी पुग्ने कार्यक्रम रहेको सो दलका नेताहरुले बताएका छन् । यसैगरी, पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्व मन्त्रीहरु भीमबहादुर रावल, रन्जिता श्रेष्ठ लगायतका नेताहरु बिहीबार बिहान धनगढी आइपुग्ने जनाइएको छ ।
नेकपाको प्रदेश सह–इन्चार्ज खगराज भट्टले बैठकमा एक हजार जनासम्मको उपस्थिति रहने जानकारी दिए । यसैबिच, नेकपाले पार्टी समायोजनको काम जेठ महिनाभित्रै पूरा हुने जनाएको छ । फागुन २१ गते चुनावपछि समयमा बैठक गर्न नसकेको जनाउँदै सो पार्टीका सुदूरपश्चिम प्रदेश इन्चार्ज भानुभक्त जैसीले जेठ महिनाभरी पार्टी समायोजनको काम गरिने बताए ।