धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा अहिलेसम्म २५ प्रतिशत बजेटपनि खर्च नगरेको पाइएको छ । वजेट भाषणमा चालु आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश सरकारले ३३ अर्ब ४३ करोड २१ लाख ९८ हजार बजेट विनियोजन गरेको भएपनि खर्च गर्न नसक्दा ठूलाे रकम फ्रज जाने भएकाे हाे।
विनियोजित बजेटमध्ये हालसम्म ८ अर्ब २९ करोड ७६ लाख ९४ हजार मात्रै खर्च भएको पाइएको हो । यो कुल बजेटको २४.८२ प्रतिशत रहेको प्रदेश लेखा नियन्त्रक कार्यालय धनगढीले जनाएको छ । आर्थिक वर्ष सकिने साढे दुई महिनाको समय मात्रै बाँकी रहेका बेला विनियोजित बजेटको ७५ प्रतिशत खर्च गर्नुपर्ने दायित्व सरकारको छ । सरकारले यो अवधिमा २५ अर्ब १३ करोड बढी रकम खर्च गर्नुपर्ने देखिएको छ ।
विगतमा जस्तै प्रदेश सरकारले पुँजीगतभन्दा चालुतर्फको बजेट खर्च बढी गरेको पाइएको छ । प्रदेश सरकारले चालुतर्फ १३ अर्ब ५८ करोड बजेट विनियोजन गरेको थियो । पुँजीगत खर्च न्यून हुँदा प्रदेशमा हुने विकास निर्माणका काम समेत सुस्त गतिमा भइरहेको रूपमा बुझ्न सकिन्छ ।
यसरी याेजनामा विनियाेजित बजेट खर्च गर्न नसक्दा बर्षाैंदेखि सुदूरपश्चिममा विकास निर्माण भएन भनेर कराउनेकाे कुनै तुक नभएकाे जानकारहरु बताउद्छन् । यसमा प्रदेश सरकारकाे कमजाेरी रहेकाे उनीहरुकाे भनाई छ ।