डडेल्धुरा। यतिबेला डडेलधुराले २०४८साल देखि २०७९ सम्म निरन्तर चुनाव जित्दै आएका शेरबहादुर देउवाकाे खाेजि गरिरहेकाे छ । नेपाली कांग्रेसका शुभचिन्तक मात्र होइन, प्रतिष्पर्धी पार्टीका कार्यकर्ताकासाथै बिशेष गरी आम मतदाता चुनावमा देउवा नहुँदा अथवा देउवाको बोली नसुन्दा खल्लो महसुस गरिरहेका छन्।
‘यसपालि त चुनावको खासै चहलपहल भएन। बड्डा (शेरबहादुर देउवा) आएका भए एक हप्ता अघिदेखि रौनक बढ्थ्यो। मान्छेहरू आउँथे। गफगाफ कुराकानी हुन्थ्यो।’ डडेलधुरा सदरमुकाममा भेटिएका रमेश भाटले निराशा व्यक्त गर्दै भने, ‘त्यसैले यसपालि चुनाव नै आएको जस्तो लागेन। चहलपहल भएन।’
उनको भनाइबाट पनि थाहा हुन्छ, याे चुनावमा डडेल्धुराका मतदातामा खासै उत्साह छैन्। उनी जस्तै डडेल्धुराका कतिपय मतदाताले जेन जीबाट देउवालाई गरेकाे अभद्र व्यबहार र त्यसलगत्तै पार्टीभित्रका केही नेता कार्यकर्ताले एकलाैटी रुपमा देउवालाई गलहत्याएकाे घटनाले यहाँका मतदातामा गहिराे चाेट महसुस भएकाे छ । ‘अहिलेकाे अवस्था देउवाप्रति मतदाताकाे सहानुभूति हाे।’
उनीहरुकाे भनाई अनुसार सात-सात पटक अत्याधिक मतले जिताउने डडेल्धुरी मतदाताले यसकाे प्रभाव देखाएकाे र अव त्यही अनुसारकाे मतपरिणाम आउनसक्ने देखिन्छ । यी सबै हर्कत देखिएपछि नेपाली कांग्रेस देउवा पक्षकाे एक प्यानलले स्वतन्त्ररुपमा युवा गौरवबहादुर ऐर उम्मेदवार बनाएकाे छ । काँग्रेसका भाेट स्वतन्त्र उम्मेदवारमा जाने र देउवामाथि खुकुरी प्रहार गर्ने घण्टीमा पनि नजानेकाे उनीहरुकाे दावी छ ।
तर, नेपाली कांग्रेसबाट डडेलधुरामा उम्मेदवारी दिएका नैनसिंह महर देउवा उम्मेदवार नहुँदा कांग्रेसको गढ जोगाउने प्रयासमा जुटेका छन्। देउवा नआए पनि देउवाको सद्भाव आफू तीर जुटाउन उनी लागिपरेका छन्। मतदान अगाडि देउवा डडेलधुरा आउनेमा महर आसावादी छन्। उनले भने, ‘उहाँ (देउवा) को आर्सीवाद र सद्भाव मसँग छ। यो निश्चित कुरा हो। सोध्नै पर्दैन।’
तर कांग्रेसलाई यतिबेला निर्वाचन आफ्नो पक्षमा पार्न चुनौती थपिएको कांग्रेसकै शुभचिन्तकहरू बताउँछन्। डडेलधुरामा कांग्रेसको विजयी यात्रालाई निरन्तरता दिनुपर्ने ठूलो चुनौती रहेकाे उनीहरुकाे भनाई छ। यता एमाले डडेल्धुराका पूर्वअध्यक्षसमेत रहेका ताराप्रसाद जोशी एकीकृत समाजवादी हुँदै अहिले रास्वपा प्रवेश गरेर यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार भएका छन्। देउवाको अनुपस्थितिमा यसपटक विजयी रास्वापाको काँधमा आउने उनको विश्वास छभने दाेस्राे ठूलाे दल नेकपाबाट मानसिंह मालले उम्मेदवारी दिएका छन्। उनी नयाँ र युवा पुस्ताका भएकाले बलियो उम्मेदवार रहेको जानकारहरू भन्छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट चक्र स्नेही लगायत यसपटक डडेलधुरामा १३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। राप्रपाबाट गोविन्द खडायत, आम जनता पार्टीबाट खडकबहादुर ठकुराठी, राष्ट्रिय जनमोर्चाबाट चन्द्र विक, श्रम संस्कृति पार्टीबाट महेन्द्र पुनमगर, जय मातृभूमि पार्टीबाट लक्ष्मीदत्त भट्ट, नेपाल मजदुर किसान पार्टीबाट सुरेन्द्रराज भट्ट, स्वतन्त्रबाट सुरेन्द्र रावल, तीर्थराज उप्रेती र गौरवबहादुर ऐर उम्मेदवार भएका छन्।
तर, पनि नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबिच प्रतिस्पर्धा हुने देखिन्छ।