धनगढी । धनगढीस्थित परराष्ट मन्त्री आर्जु राणाको घरमा आगो लगाइएको छ। धनगढी–४ उत्तरबेहडीमा रहेको राणाको घरमा जेन्जी युवाहरूले मङ्गलवार आगो लगाएका हुन्।
युवाहरूले धनगढीमा शेरबहादुर देउवा, आर्जु राणा, प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरु विरुद्ध नाराबाजी गरेका छन्। युवाहरूले सरकारले आन्दोलनमा चरम दमन गरेको भन्दै उग्र नारा लगाएका छन्। युवाहरूले धनगढीस्थिति मुख्यमन्त्री कार्यालयमा पनि तोडफोड गर्ने प्रयास गरेका थिए।
भ्रष्टाचार विरुद्ध आन्दोलन गर्दा सरकारले गोली दागेको भन्दै सरकार विरुद्ध चर्को नाराबाजि गरेका छन्। यो समाचार तयार गर्दासम्म आर्जु राणाको घरमा लगाइएको आगो नियन्त्रणमा आएको छैन। उता काठमाण्डाैं बुदानिलकन्ठमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् । मुख्य गेट फुटाएर घर भित्र प्रवेश गरेका प्रदर्शनकारीले घरभित्रै आगो लगाइदिएका हुन् । देउवाको घरबाट कालो धुवाँको मुस्लो उडेको छ । देउवा कहाँ छन् भन्ने खुलेको छैन ।
प्रदर्शनकारीले काठमाडौंको नैकापस्थित कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकको घरमा समेत आगजनी गरेका छन् ।