धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि पेस गरेको नीति तथा कार्यक्रम प्रदेश सभा बैठकबाट पारित भएको छ । सोमबार बसेको प्रदेश सभा बैठकले प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई सर्वसम्मतले पारित गरेको हो ।
यसअघि नीति तथा कार्यक्रममाथि छलफलका क्रममा सांसदहरूले राखेका जिज्ञासाहरूको मुख्यमन्त्री कमलबहादुर शाहले जवाफ दिएका थिए । नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सोमबारको बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद जानकी कुँवरले गाउँघरमा बन्ने मदिरा र ग्रामीण क्षेत्रमा उत्पादन हुने महलाई ब्रान्डिङ गरेर अगाडि बढ्न सके फाइदा हुने बताए।
ओमविक्रम भाट सरलले नीति तथा कार्यक्रम रङ्गीचङ्गी भएपनि त्यसमा समृद्ध बनाउने केही अधार नरहेको टिप्पणी गरे । नीति तथा कार्यक्रममा भिजन र मिसन नरहेको उनको जिकिर थियो । यस्तै एकीकृत समाजवादीका सांसद नरेशकुमार शाहीले बजेट निर्माणका क्रममा बेथिति देखिएको बताएका थिए । उनले बेथिति भइरहेका प्रशस्त सूचनाहरू आफूकहाँ आएको र ती सूचना मुख्यमन्त्रीलाई समेत आफूले जानकारी गराएको बताए ।
कांग्रेस सांसद जुनाकुमारी दानीले विकासमा पछाडि परेको बाजुरा लगायतका जिल्लालाई आगामी वर्ष बजेटमा प्राथमिकता दिन आग्रह गरिन् । बजेटमा बाजुरालाई सधैँ उपेक्षा गर्ने गरिएको उनको गुनासो थियो । माओवादी केन्द्रका सांसद शिवसिंह ओलीले कार्यक्रम एकातिर र बजेट अर्कोतिर आउने परम्पराको अन्त्य हुनुपर्ने बताए ।
उनले भएका अस्पतालको स्तरोन्नति गर्नुको साटो अन्य ठाउँमा प्रादेशिक अस्पताल घोषणा गर्दै हिँडेको बताए । ‘मुख्यमन्त्री र मन्त्रीका क्षेत्रमा ९२ करोडसम्म जाने ? यो कस्तो बजेट वितरण र समावेशिता हो ?’ उनले प्रश्न गरे । एमाले संसदीय दलका उपनेता सन्तोष शर्मा थापाले नीति तथा कार्यक्रममा लैङ्गिक समानताको प्रतिबद्धता नदेखिएको औँल्याइन् ।
नागरिक उन्मुक्ति पार्टीका सांसद घनश्याम चौधरीले नीति कार्यक्रम र बजेटबीच तालमेल हुनुपर्ने औँल्याए । बजेट कार्यान्वयन हुनेगरि आउनु पर्नेमा उनको जोड थियो । छलफलमा सांसदहरू रमेश धामी, चक्र मल्ललगायतले पनि आफ्ना धारणाहरू राखेका थिए ।