धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नागरिक उन्मुक्ति पार्टी संसदीय दलको सिफारिसमा आइतबार दिउँसो मुख्यमन्त्री कमलबहादुर शाहले चौधरीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त गरेका थिए ।
चौधरीले साँझ प्रदेश प्रमुख नजिर मियाँबाट पद तथा गोपनियताको सपथ ग्रहण गर्दै पदभार सम्हालेका छन् । आर्थिक लेनदेन गर्ने विवादित अडियो सार्वजनिक भएपछि नाउपाबाटै उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीमा रहेका तत्कालीन मन्त्री लक्ष्मणकिशोर चौधरीले १६ चैतमा नैतिकताका आधारमा राजीनामा दिएका थिए ।
आर्थिक लेनदेन सम्बन्धी संवाद गरेको अडियो सार्वजनिक भएकै कारण तत्कालीन मन्त्री पदमुक्त भएको पृष्ठभूमिमा रामेश्वर चौधरीले यो मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । यति मात्र होइन पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको निर्णय र निर्देशन विपरीत प्रदेश संसदीय दलको सिफारिसमा संरक्षक रेशम चौधरी पक्षीय मानिने रामेश्वर मन्त्री बनेका छन् ।
यसअघि दल नेता घनश्यामले दलको बैठक विना रामेश्वरलाई मन्त्रीमा सिफारिस गर्दै अवैध काम गरेको भन्दै प्रदेश सभा सदस्य खुसीराम डगौरा थारूले शनिबार मुख्यमन्त्री कमलबहादुर शाह प्रदेश प्रमुख र पार्टी केन्द्रमा रामेश्वरलाई मन्त्री बनाउने निर्णय नभएको भन्दै सपथ ग्रहण नराउन लिखित रूपमै ध्यानाकर्षण गराएका थिए।
उता पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले कैलाश चौधरीलाई मन्त्री बनाउने निर्णय गर्दै संसदीय दलका नेता घनश्याम चौधरीलाई निर्देशन दिएकी थिइन् । अध्यक्ष श्रेष्ठले मन्त्रीको टुंगो लगाएर पठाइदिन अनुरोध भएअनुसार संसदीय दललाई निर्णय दिएको बताउँदै आएकी छन् । स्रोतकाअनुसार तत्कालीन मन्त्री लक्ष्मणकिशोर चौधरीले राजीनामा दिएपछि अध्यक्ष रञ्जिता र संरक्षक चौधरीसहित धनगढीमा बसेको बैठकले मन्त्रीको टुंगो लगाउने जिम्मा अध्यक्ष श्रेष्ठलाई नै दिएको थियो । त्यहाँ कैलाश चौधरीका विषयमा मोटामोटी समझदारी समेत बनेको थियो ।
तर, यो बीचमा जनमत पार्टी र नाउपा एकीकरण हुन दिन रेशम चौधरी पक्राउको विषयमा अध्यक्ष श्रेष्ठले दिएको अभिव्यक्तिका कारण उनीहरुबीचको खटपट चुलिएर फेरी पुरानै अवस्थामा पुगेको छ ।