धनगढी । आफ्नाहरुको घरजग्गा जोगाउन सडकको चौडाइ नक्सामा भएकाे भन्दा घटाएर धनगढी उपमहानगरपालिकाभित्र बनाउन थालिएकाे भन्दै स्थानीयले बिराेध गरेका छन् । उप–महानगरपालिकाले वडा नम्बर ४ मा रहेका विभिन्न ४ वटा सडकहरूको चौडाइ नक्सामा भएको भन्दा कम गरेर कालोपत्रे गर्न लागेको भन्दै स्थानीयहरूले चर्को विरोध गरेका हुन् ।
पुरानो मुख्यमन्त्री कार्यालयदेखि पूर्वतर्फको शिवपुरी सडक जोड्ने निर्माणाधीन सडक नक्सा अनुसार नबनाए पछि स्थानीयहरूले उप–महानगरपालिकाको न्यायिक समितिमा उजुरी दिएका छन् । सडक बिस्तार गर्ने नाममा उप–महानगरपालिकाले कसैको उठिबास लगाउने र आफ्नो नजिकका व्यक्तिहरूको घरजग्गा रहेको क्षेत्रमा नक्सामा कायम भएको सडकको चौडाइ पनि घटाएको पाइएको छ ।
आफ्ना निकटका व्यक्तिको सम्पत्ति संरक्षण गर्न दीर्घकालीन रूपमा असर पर्ने गरी सडकको चौडाइ घटाइएको स्थानीय नराेत्तम भट्टले बताए । यो क्षेत्रमा जग्गा पर्नेहरू वडा नम्बर ४ का अध्यक्ष बुद्धिबहादुर खड्काको नजिकका व्यक्ति रहेकोले सडकको चौडाइ घटाइएको उनको भनाइ छ ।
केही व्यक्तिलाई फाइदा पुग्ने गरी सडक साँघुरो बनाएर कालोपत्रेको काम भइरहेको र त्यो पनि गुणस्तरहीन रहेको स्थानीय तीर्थराज जोशीले बताए । स्थानीयले निर्माण कम्पनीले गुणस्तरीय काम नगरेको र जनप्रतिनिधिले आफ्नो नजिकका व्यक्तिको जग्गा र घर जोगाउन बदमासी गरेको भन्दै विरोध गरेका छन्।
उजुरी पछि सो विषयमा उप–महानगरपालिकाका उप–प्रमुख स्थानीय घर नक्सा महाशाखाका कर्मचारी तथा उजुरकर्ता (स्थानीय) बिच छलफल पछि सडकको स्थलगत निरीक्षण समेत गरिएको थियो । सडक आफ्नै क्षेत्रभित्र निर्माणाधीन रहेको र सडक सहमतिका आधारले बनिरहेको उप–प्रमुख कन्दकला रानाको भनाइ छ ।
उपमहानगरपालिकाले भने सडक मापदण्ड अनुसार नै सडक निर्माण भइरहेको दाबी गरेको छ । नाली बाहिर एक मिटरभित्र विद्युतको पोल, खानेपानीको पाइप र फुटपाथ बनाउन सडकको क्षेत्र छोडेको धनगढी उप–महानगरपालिका वडा न.४ का अध्यक्ष बुद्धिबहादुर खड्काले बताए ।
सुशासन तथा हाम्रो धनगढी हामी बनाउँछौँ भन्ने नारा दिएर चर्चामा आएका धनगढी उप–महानगरपालिकाका मेयर गोपाल हमालले नारा अनुसार काम गर्न नसकेको स्थानीयको आरोप छ। गाेरखापत्रबाट