धनगढीमा आफ्नाको घरजग्गा जोगाउन सडकको चौडाइ घटाइयो

धनगढी । आफ्नाहरुको घरजग्गा जोगाउन सडकको चौडाइ नक्सामा भएकाे भन्दा घटाएर धनगढी उपमहानगरपालिकाभित्र बनाउन थालिएकाे भन्दै स्थानीयले बिराेध गरेका छन् । उप–महानगरपालिकाले वडा नम्बर ४ मा रहेका विभिन्न ४ वटा सडकहरूको चौडाइ नक्सामा भएको भन्दा कम गरेर कालोपत्रे गर्न लागेको भन्दै स्थानीयहरूले चर्को विरोध गरेका हुन् । 

पुरानो मुख्यमन्त्री कार्यालयदेखि पूर्वतर्फको शिवपुरी सडक जोड्ने निर्माणाधीन सडक नक्सा अनुसार नबनाए पछि स्थानीयहरूले उप–महानगरपालिकाको न्यायिक समितिमा उजुरी दिएका छन् । सडक बिस्तार गर्ने नाममा उप–महानगरपालिकाले कसैको उठिबास लगाउने र आफ्नो नजिकका व्यक्तिहरूको घरजग्गा रहेको क्षेत्रमा नक्सामा कायम भएको सडकको चौडाइ पनि घटाएको पाइएको छ ।

आफ्ना निकटका व्यक्तिको सम्पत्ति संरक्षण गर्न दीर्घकालीन रूपमा असर पर्ने गरी सडकको चौडाइ घटाइएको स्थानीय नराेत्तम भट्टले बताए । यो क्षेत्रमा जग्गा पर्नेहरू वडा नम्बर ४ का अध्यक्ष बुद्धिबहादुर खड्काको नजिकका व्यक्ति रहेकोले सडकको चौडाइ घटाइएको उनको भनाइ छ । 

केही व्यक्तिलाई फाइदा पुग्ने गरी सडक साँघुरो बनाएर कालोपत्रेको काम भइरहेको र त्यो पनि गुणस्तरहीन रहेको स्थानीय तीर्थराज जोशीले बताए । स्थानीयले निर्माण कम्पनीले गुणस्तरीय काम नगरेको र जनप्रतिनिधिले आफ्नो नजिकका व्यक्तिको जग्गा र घर जोगाउन बदमासी गरेको भन्दै विरोध गरेका छन्।

उजुरी पछि सो विषयमा उप–महानगरपालिकाका उप–प्रमुख स्थानीय घर नक्सा महाशाखाका कर्मचारी तथा उजुरकर्ता (स्थानीय) बिच छलफल पछि सडकको स्थलगत निरीक्षण समेत गरिएको थियो । सडक आफ्नै क्षेत्रभित्र निर्माणाधीन रहेको र सडक सहमतिका आधारले बनिरहेको उप–प्रमुख कन्दकला रानाको भनाइ छ ।

उपमहानगरपालिकाले भने सडक मापदण्ड अनुसार नै सडक निर्माण भइरहेको दाबी गरेको छ । नाली बाहिर एक मिटरभित्र विद्युतको पोल, खानेपानीको पाइप र फुटपाथ बनाउन सडकको क्षेत्र छोडेको धनगढी उप–महानगरपालिका वडा न.४ का अध्यक्ष बुद्धिबहादुर खड्काले बताए । 

सुशासन तथा हाम्रो धनगढी हामी बनाउँछौँ भन्ने नारा दिएर चर्चामा आएका धनगढी उप–महानगरपालिकाका मेयर गोपाल हमालले नारा अनुसार काम गर्न नसकेको स्थानीयको आरोप छ। गाेरखापत्रबाट

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.