धनगढी। कैलालीको अत्तरियास्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेपाल विद्यार्थी संघ (नेवि संघ) का भुवन महरा निर्वाचित भएका छन्।
अखिल संयुक्त प्यानलका उम्मेदवार बमबहादुर विश्वकर्मालाई पराजित गरी महरा स्ववियु सभापतिमा निर्वाचित भएका हुन् । दुर्गालक्ष्मीको स्ववियु सभापतिमा उनको यो लगातार दोस्रो जित हो । विजयी महराले ४४१ र पराजित विश्वकर्माले ३७८ मत प्राप्त गरे। यसैगरी, सचिवमा नेवि संघकी ज्योति साहु ४७४ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी अखिल संयुक्तका गणेशनाथ योगीले ३२६ मत प्राप्त गरे।
त्यस्तै कोषाध्यक्षमा नेवि संघकै सोनिया शाह ४४५ मत प्राप्त गरी विजयी भइन् । उनका प्रतिस्पर्धी दिपिका जोशीले ३५१ मत प्राप्त गरे । बुधबार भएको स्ववियुको निर्वाचनमा जम्मा ८३१ मत परेको थियो ।
यसैबीच प्रदेशकै सबैभन्दा ठुलो कैलाली बहुमुखी क्याम्पसमा आज दिउँसो १ः३० बजेबाट मतगणना सुरु गर्ने तयारी भइरहेको छ ।