धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्राउलाई राजनीतिक पूर्वाग्रह भन्न नमिल्ने प्रतिक्रिया दिएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले कैलालीको धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै यस्तो बताएका हुन् ।
सहकारीको रकम घोटाला प्रकरणमा एउटा पार्टीको सभापतिलाई राजनीतिक पूर्वाग्रह भएर पक्राउ गरियो भन्ने आरोप लागेको छ, यसमा कांग्रेसको प्रतिक्रिया के छ भन्ने प्रश्नमा देउवाले भने, ‘हाम्रा सांसदलाई मुद्दा चलाइयो । तर, हामीले कहिल्यै होहल्ला गरेनौँ । अदालती प्रक्रियामा गएको कुरा त अदालतले फैसला गर्ला नि ।’
देउवाले अहिलेको गठबन्धन पूरै कार्यकाल टिक्ने पनि दाबी गरे । ‘अहिले गठबन्धनमा कुनै समस्या छैन । पूरै समय टिक्छ,’ उनले भने । देउवा एक साताका लागि गृहजिल्ला सुदूरपश्चिम आएका हुन् ।
नेपाली कांग्रेस डडेल्धुराका जिल्ला सभापति भीमबहादुर साउदका अनुसार डडेल्धुरामा कार्यकर्ता भेटघाटका कार्यक्रमदेखि देवीदेउताका विभिन्न जात्रामा सभापति देउवा सहभागी हुने कार्यक्रम तय भएको बताए ।