धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको बजेट प्रदेश सदनबाट बहुमतले पारित भएको छ । आज विहान बसेको प्रदेश सभा बैठकले बजेट पारित गरेको हो ।
भदौ ३१ गते प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले पेस गरेको ३१ अर्ब ६२ करोड बराबरको बजेट शनिबार र आइतबार दुई दिन छलफल गरेर बहुमतले पारित गरिएको छ । यसअघि, बजेटमाथि छलफलमा भाग लिँदै सत्ता र प्रतिपक्षका प्रदेशसभा सदस्यले बजेटको आलोचना गरेका थिए ।
सत्तापक्षले आलोचनासहित बजेटमा समर्थन जनाउँदा प्रतिपक्षले बजेटप्रति असहमति जनाएका थिए। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश सभा सदस्यहरुले बजेटको विपक्षमा मतदान गरेका छन ।
सदनमा उठेको प्रश्नमा जवाफ दिँदै आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले बिचौलियाको लेनदेन हटाउने प्रयासमा सरकारले चार बुँदे अवधारणा घोषणा गरेको उल्लेख गर्दै बिचौलियाको योजना परेका प्रमाणसहित आएमा त्यस्ता योजना कार्यान्वयन नगर्ने र बिचौलियालाई कारबाही गर्ने प्रतिवद्धता जनाए थिए।