सुदूरपश्चिमको बजेट निर्माणमा मन्त्रीहरुकाे रस्साकसीले अझै अन्याैल

धनगढी । अघिल्लाे साेडारी सरकार हटाएर नयाँ वजेट ल्याउने तामदामकासाथ कांग्रेस एमाले मिलेर बनाएकाे कमल शाह नेतृत्वकाे सरकार गठन भएकाे तीन महिनासम्म पनि सुदूरपश्चिम प्रदेश सरकार अझै बजेट निर्माणको तयारीमा अल्झिएको छ । पटक–पटक डेटलाइन तोकेर बजेट निर्माणमा लागेको प्रदेश सरकार बजेट निर्माणमा मन्त्रीहरुकाे रस्साकसीले भदाैं अन्तसम्म पनि अन्याैलमै रहेकाे छ।

मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले सुरुमा भदौ १०, त्यसपछि भदौ १५, २० गते हुँदै २५ गतेभित्रै बजेट ल्याउने डेटलाइन निर्धारण गरेको थियो । तर बजेट ल्याउने प्रदेश सरकारको अझै तयारी नपुगेको पाइएको छ । यहाँसम्म कि, बजेट कहिले आउँछ भन्नेबारे प्रदेश सरकारका मन्त्रीहरू नै नाजवाफ देखिएका छन् ।

प्रदेश सरकारका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बमले भने, ‘अहिले मलाई पनि थाहा छैन । बजेट कहिलेसम्म आउँछ । तथापि यो महिनाभित्रै आउँछ ।’

भौतिक र सामाजिक मन्त्रालयको योजना फिर्ता !

मुख्यमन्त्री कमल बहादुर शाह नेतृत्वको सरकारले नयाँ बजेट ल्याउन लागेको छ । तर चालू आर्थिक वर्षको लागि दोसो पटक आउन लागेको बजेट निर्माणमा पनि ढिलाइ भएको हो । आर्थिक मामिला मन्त्रालयको परिपत्रपछि यहाँका मन्त्रालय तथा मातहतका कार्यालयहरूबाट भदौ १६ गतेदेखि नै बजेट सूचना प्रणालीमा योजनाहरू प्रविष्टिको काम थालिएको थियो ।

आर्थिक मामिला मन्त्रालय स्रोतका अनुसार आर्थिक मामिला मन्त्रालयले बजेट रुजुको क्रममा प्रविष्ट गरिएका योजनाहरूमध्ये भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालयले पेस गरिएको योजना फिर्ता पठाइएको छ । पठाइएको योजनाहरूमा आर्थिक मामिला मन्त्रालयले त्रुटि औँल्याएपछि ती दुई मन्त्रालयलाई पुनः परिमार्जन गरी पठाउन भनिएको छ । तर ती योजना परिमार्जन हुन नसक्दा बजेटलाई अन्तिम रूपमा दिन नसकिएको आर्थिक राज्यमन्त्री बम बताउँछन् ।

आफु र आफ्नाका याेजना समावेश गर्ने रस्साकसीले बजेट आउन र पास भएर लागुहुन अझै केही समय लाग्नसक्ने देखिन्छ । तर, समयमा बजेट आउन नसक्दा बजेटका धेरै कार्यक्रमहरू प्रभावित हुने र कार्यान्वयनमा समेत समस्या हुने देखिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.