धनगढी । महिना दिन पहिलेदेखि बजेट शुन्यतामा रहेकाे सुदूरपश्चिम प्रदेश सरकार चालू आर्थिक वर्षकालागि बजेट निर्माणमा जुटेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार सरकारका मन्त्रीहरूलाई राखेर पत्रकार सम्मेलन गर्दै बजेट निर्माणका चारवटा आधार तय गरेकाे घोषणा गरे।
उनले विज्ञप्ति नै जारी गरेर प्रदेश सरकारले २५ लाख भन्दामाथि सिलिङ कायम गरी बजेट विनियोजन गर्ने जनाएको छ। आवश्यकता र आौचित्यको आधारमा २५ लाखभन्दा कम बजेट विनियोजन गर्नुपर्ने भएमा कार्य योजनासहित सशर्त अनुदानको रूपमा स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्ने भएको छ।
यसै गरी व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी, सहकारी आदिलाई तोकेर बजेट विनियोजन नगर्ने र उपभोक्ता समितिमार्फत योजना कार्यान्वयन पनि नगर्ने जनाइएको छ । यसै गरी पत्रकारले सोधेको जिज्ञासाको जवाफमा मुख्यमन्त्री शाहले सुशासन र छिटोछरितो सेवा दिने कुरामा दृढताका साथ लाग्न कर्मचारीलाई निर्देशन दिए ।
विपतसँग जोडिएको कुरामा प्रदेश सरकार आँखा चिम्लेर नबस्ने र जतिसक्दो चाँडै सम्बोधन गर्ने उनकाे दाबी थियाे।