धनगढी । आगामी आर्थिक वर्षकाे लागि बजेट बनाउने दिन घर्किरहेकाे बेला वैशाख ६ मा मुख्यमन्त्री नियुक्त भएर ३ जेठमा विश्वासको मत लिएका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले अझै सरकारलाइ पुर्णता दिन सकिरहेका छैन् । साेडारीलाइ मुख्यमन्त्रीमा समर्थन गरी बिश्वासकाे मत दिएका सत्तारुढ गठबन्धनमा आवद्ध दलहरु नै प्रदेश सरकार विस्तारको विषयमा अहिलेसम्म कुनै छलफल नगरेकाे बताइरहँदा अन्याैलता झन बढेकाे हाे।
प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरेपछि मात्र त्यो विषयमा छलफल हुने उनीहरुकाे भनाइ छ । ‘हाम्रो बीचमा अहिलेसम्म कुनै छलफल भएको छैन,’ एकीकृत समाजवादीका उपनेता प्रकाश रावलले भने, ‘आज प्रधानमन्त्री ज्यूले विश्वासको मत लिनुहुन्छ, त्यसपछि मात्र सरकार विस्तारको विषय अघि बढ्छ ।’ रावलले मन्त्रालयको भागबन्डा लगायतका विषय छलफलपछि मात्र टुंगो लाग्ने बताए । तर प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्ने भनिएकाे आजकाे प्रतिनिधि सभा बैठक बस्ने नै निश्चित भएकाे छैन् ।
प्रदेश सरकारको सहभागिताका सम्बन्धमा पार्टी केन्द्रीय निर्देशन समेत प्राप्त नभएको एमाले प्रदेश संसदीय दलले जनाएको छ । ‘सरकार विस्तारको विषयमा गठबन्धन दलहरुबीच कुनै छलफल भएको छैन । यो विषयमा केन्द्रबाट कुनै निर्देशन पनि प्राप्त भइसकेको छैन,’ एमाले संसदीय दलका नेता राजेन्द्र रावलले भने, ‘प्रधानमन्त्रीज्यूले विश्वासको मत लिइसकेपछि छलफल अघि बढ्छ ।’
नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका उपनेता अक्कलबहादुर रावलले पनि शीर्ष तहबाट कुनै खालको निर्देशन प्राप्त नभएको सुनाए ।प्रधानमन्त्रीले विश्वासको मत लिइसकेपछि सुदूरपश्चिम सरकार विस्तारका विषयमा गठबन्धनमा छलफल हुने विश्वास उनको छ ।