पार्टी गतिशील बनाउन सुदूरपश्चिमबाट माओवादीको केन्द्रीय टोली हेडक्वाटरमा

धनगढी। पार्टीलाई गतिशील बनाउन माग गर्दै  सुदूरपश्चिम प्रदेश माओवादी केन्द्रका नेताहरु पार्टी हेडक्वाटर पुगेका छन्।सुदूरपश्चिमबाट केन्द्रीय सदस्य रहेका उनीहरुले हिजो मंगलबार माओवादी केन्द्रका अध्यक्ष एवम्  प्रधानमन्त्री प्रचण्डलाई भेटेर सुदूरपश्चिममा पार्टी भित्रको समस्याका विषयमा जानकारी दिएका थिए ।

बालुवाटारमा करिब १ घण्टा सम्म भएको छलफलमा करिब आधा दर्जन केन्द्रीय सदस्यहरूको कुरा प्रचण्डले धैर्यता पूर्वक सुनेका थिए । त्यस क्रममा लक्षिराम आचार्य, त्रिलोचन भट्ट, लक्ष्मी जोशी, ओम प्रकाश पुन, विना मगर सहितले सुदूरपश्चिम प्रदेशमा माओवादी भित्रका समस्याहरू हल गर्न ढिला गर्न नहुने बताएका थिए । ‘माओवादी केन्द्रलाई बलियो कसरी बनाउन सकिन्छ भन्ने विषयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षसँग हाम्रो गम्भीर छलफल भएको छ केन्द्रीय सदस्य आचार्यले भने, ‘उहाँ सुदूरपश्चिम प्रदेशको पार्टी भित्रको समस्याका विषयमा निकै गम्भीर र चिन्तित हुनु भएको हामीले पायौँ ।

सुदूरपश्चिम प्रदेश सरकारले गति पाउन नसकेको, माओवादीलाई प्रदेश सरकारले चासो नदिएको, जनताका विषयमा सरकार गम्भीर नभएको लगायतका विषयमा पनि प्रधानमन्त्रीलाई माओवादी केन्द्रका नेताहरूले गुनासो गरेका थिए । ‘सुदूरपश्चिम सरकार कांग्रेसले आफ्नो एक्लो बहुमतको सरकार जस्तो गरिरहेको छ’ आचार्यले भने, ‘हामीले प्रधानमन्त्रीलाई भन्यौँ हामी दोस्रो ठुलो दलसँग कुनै छलफल छैन । पार्टीलाई कुनै विषयमा सरकारले चासो दिएको छैन ।’

सरकार र संसद् र पार्टीको विषयमा प्रधानमन्त्रीलाई बोल्नै सबै नेताहरूले ध्यानाकर्षण गरेका थिए । उनीहरूले अहिलेको प्रदेश नेतृत्वबाट सुदूरपश्चिम प्रदेशमा पाटी अगाडी बढ्न नसक्ने आधार प्रधानमन्त्रीलाई दिए । ‘प्रदेश नेतृत्व कमजोर हुँदा पार्टी कमजोर भयो यस्तै अवस्था रहे अझै समस्या हुन्छ’ प्रधानमन्त्रीलाई सुझाव दिएको भन्दै एक अर्का नेताले भने, ‘प्रदेश अध्यक्ष र संसदीय दलको नेतृत्वबाट पार्टी बलियो हुन नसक्ने ठहर छलफलमा भयो ।’

सबै भन्दा पहिले प्रधानमन्त्रीले उपलब्ध केही नेताहरूलाई बोल्न दिए र आफूले सुने त्यसपछि फेरी आफू बोलेर नेताहरूले सुने, फेरी नेताहरूले आफ्ना कुरा राखे । करिब १ घण्टा गम्भीर अन्तरक्रिया भएको माओवादी नेताहरूका दाबी छ । ‘पार्टी बलियो बनाउने कुरामा हामी गम्भीर छौँ । नेतृत्वका गुनासाहरू पनि आइरहेका छन् यस विषय हेडक्वाटरले अवश्य पनि केही गर्छ’ प्रचण्डले उपस्थित नेताहरूलाई आश्वस्त पारेका थिए ।

पार्टी नीति र विधि अनुसार चल्न नसकेको भन्दै केन्द्रीय सदस्यहरूको टोलीले माओवादीका अन्य शीर्ष नेताहरूलाई पनि भेटिसकेको छ । यस क्रममा महासचिव देव गुरुङ, उपमहासचिव हरिवोल गजुरेल, गिरिराजमणि पोख्रेल, सचिव डिलाराम आचार्य, कोषाध्यक्ष श्रीराम ढकाललाई पनि केन्द्रीय सदस्यको टोलीले भेटिसकेको छ । उनीहरू सबैसँग पार्टी बलियो बनाउनको विषयमा छलफल भएको केन्द्रीय सदस्य आचार्यले जानकारी दिए । आज उपमहासचिव जनार्दन शर्मा, वर्षमान पुन र शक्ति बस्नेतलाई पनि भेटेरै सुदूरपश्चिम प्रदेशमा माओवादी भित्र देखिएको समस्या हल गर्न पहल गर्न आग्रह गर्ने तयारी भइरहेको उनले बताए।

केही दिन अघि सभामुख भीम भण्डार, राज्य मन्त्री गीता माल, उपनेता, प्रमुख सचेतक सहितका बहुमत प्रदेश सभा सदस्यहरूले संसदीय दल भित्रको समस्या लिएर प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगाएतका शीर्ष नेताहरूलाई डेलिगेसन बुझाएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.