धनगढी । जनतासँग चार महिने रुपान्तरण अभियान सकेर सुदूरपश्चिमका माओवादी केन्द्रका नेताहरु अहिले पार्टी हेडक्वाटर पुगेका छन् । त्याहाँ उनीहरुले सुदूरपश्चिम पार्टी र प्रदेश सरकारकाबारेमा गुनासो गरेका छन्। यसैक्रममा नेकपा माओवादी केन्द्र सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरु संसदीय दलको नेता र मन्त्री फेरबदल गर्न माग गरेका हुन्।
माओवादीबाट निर्वाचित प्रदेशसभा सदस्यहरुले शनिबार पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर दलको नेता र मन्त्री फेर्नुपर्ने माग गरेका छन्।बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री तथा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग भेटेको र सुदूरपश्चिम इन्चार्ज एवं पार्टी केन्द्रीय सचिब डिलाराम आचार्यलाई उनकै निवासमा पुगेर भेटेको सांसदहरुले सकारात्मक जवाफ पाएको बताएका छन्।
बालुवाटार भेटमा सहभागी प्रदेशसभाका सदस्य अक्कलबहादुर रावलले दल र सरकार शुद्धीकरण गर्नुपर्ने कुरा गरेको बताए । ‘आज हामीले अध्यक्ष र उपाध्यक्ष कमरेडलाई भेटेर दल र सरकारमा शुद्धीकरण गर्नुपर्छ भनेका छौं’, रावलले भने, ‘हाम्रो एजेण्डालाई उहाँहरुले सकरात्मक रुपमा लिनुभएको छ ।’
योसंगै सुदूरपश्चिममा पार्टीलाई गतिशील बनाउन सक्ने नेतृत्व अभाव रहेको भन्दै केहि दिनअघि मात्रै गठन गरिएको प्रदेश सचिवालयका बहुमत नेता काठमाडौँ पुगेका छन्।