प्रदेशस्तरीय गौरवका आयोजना अलपत्र

गोकर्ण दयाल 

बैतडी । सुदूरपश्चिम प्रदेश सरकारले गौरवको आयोजनामा समेटेको बैतडीको सतबाँझ–श्रीभावर हुँदै पुर्चौडी जोड्ने ६२ किलोमिटर सडकखण्ड र मोटरेबल पुल निर्माण कार्य अलपत्र परेको छ । सडक र मोटरेबल पुलसँगै स्थानीय सरकाले निर्माण सुरु गरेको १५ शय्याको अस्पताल र बृहत् खानेपानी योजनासमेत अलपत्र पर्दा करिब ४० हजार बासिन्दा सडक यातायात, स्वास्थ्य र खानेपानीबाट वञ्चित भएका छन् ।

पुर्चौडीको विकासका लागि सडकतर्फ ६९ करोड र मोटरेबल पुलका लागि चार करोड ७० लाख रुपियाँ बजेट भए पनि ठेकेदार र पूर्वाधार विकास कार्यालयको लापरबाहीका कारण विकासे योजना अलपत्र परेको गुनासो स्थानीयवासीको छ । पुर्चौडी नगरपालिका–१, खडीखेतस्थित जमाडी नदीमा पुल निर्माण गर्न सङ्घीय सरकारले २०७६ सालमा करिब पाँच करोड बजेट पठाए पनि चार वर्षदेखि पुल निर्माणको काम अलपत्र छ । अलपत्र छाडिएको पुलको पिल्लरमा प्रयोग भएका छडमा खिया लागेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा जगदम्बा कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको उक्त पुलको जग खडा गरेर अलपत्र छाडिएको छ । सङ्घीय ससर्त अनुदान अन्तर्गत पुल निर्माण गर्न चार करोड ७० लाख रुपियाँको लागतमा पूर्वाधार विकास कार्यालयले हेर्ने जिम्मेवारी पाएको थियो । प्राविधिक र ठेकेदारको लापरबाहीले राज्यको करोडौँ रकम जमाडी नदीमा बगेको स्थानीय लोकेश साउदले बताए । सडक स्तरोन्नतिका लागि ६९ करोड रुपियाँ र पुल निर्माणका लागि चार करोड ७० लाख रुपियाँ वजेट सदुयोग हुन सकेको छैन ।

प्रदेश गौरवको आयोजनामा समेटिएको सडक र पुल पुर्चौडी नगरपालिकाको लाइफलाइन हो । प्रदेशस्तरीय गौरवको आयोजना सडकले प्रदेश राजधानी र जिल्ला सदरमुकाम जोड्ने छ । छ वर्षअघि नै निर्माण सुरु भएको सडक र पुल अलपत्र पर्दा स्थानीय खिन्न भएका छन् । बाढीपहिरो वा प्राकृतिक विपत्का बेला कच्ची सडकसमेत ठप्प हुने गरेको छ । बर्सातका बेला नदीको जलसतह बढ्दा आकस्मिक रूपमा चल्ने एम्बुलेन्स र सवारीसाधन ठप्प हुने गरेका छन् । 

लामो समयदेखि सडक र पुल निर्माणको माग उठे पनि पूर्वाधार विकास कार्यालय र ठेकेदारको लापरबाहीका कारण निर्माण कार्य अलपत्र परेको पुर्चौडीका स्थानीय हरिश साउदले गुनासो छ। कार्यस्थलमा गौरवका आयोजनाको होर्डिङ बोर्डसमेत नहुँदा स्थानीयवासी अन्योलमा परेको उनले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.