धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्र पठाएका छन् । मुख्यमन्त्री शाहले सोमबार प्रधानमन्त्री ‘प्रचण्ड’लाई पत्र पठाउदै धनगढीस्थित त्रिनगर भन्सार कार्यालयमा प्लान्ट क्वारेण्टीन तथा विषादी व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याउन आग्रह गरेका हुन् ।
सुदूरपश्चिम प्रदेशको मुख्य नाकाकारुपमा रहेको धनगढीस्थित त्रिनगर भन्सार कार्यालयमा विगत तीन वर्षदेखि सञ्चालनमा रहेको प्लान्ट क्वारेण्टीन तथा विषादी व्यवस्थापन केन्द्र अहिले बन्द गरिएको छ । संघीय सरकार कृषि मन्त्रालयले साउन २८ देखि प्लान्ट क्वारेण्टीन तथा विषादी व्यवस्थापन केन्द्र अचानक बन्द गरिदिएपछि धनगढी नाकाबाट खाद्यान्न लगायतका फलफुल, पशुपन्छी तथा दुग्धजन्य वस्तुहरूको आयात–निर्यात ठप्प भएको छ ।
मुख्यमन्त्री शाहले प्रधानमन्त्री दाहाललाई पठाएको ज्ञापन पत्रमा प्लान्ट क्वारेण्टीन तथा विषादी व्यवस्थापन केन्द्र सुरु गर्न पटक पटक ताकेता गर्दा पनि कुनै सुनवाई नभएको गुनासो गर्दै भनेका छन– ‘यो प्रदेशमा कृषि तथा खाद्य उद्योगहरु कच्चा पदार्थको अभावमा अधिकांश बन्द भएका छन् । र, थप अन्य उद्योग बन्द हुने अवस्थामा रहेछन् ।’
मुख्यमन्त्री शाहले प्लान्ट क्वारेण्टीन तथा विषादी व्यवस्थापन केन्द्र बन्द हुँदा प्रदेशका सबैजसो उद्योगहरु प्रभावित भएको र कृषिजन्य बस्तुसँगै दैनिक उपभोग्य वस्तुकोसमेत मूल्य वृद्धि हुँदा आमजनतामा त्यसको प्रत्यक्ष असर परेको प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराउदै यथाशीघ्र कैलाली भन्सार कार्यालयमा स्थायीरुपमा प्लान्ट क्वारेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रको व्यवस्था गर्न माग गरे ।’