धनगढी । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ विभिन्न कार्यक्रमकासाथ कैलाली पुगेका छन । यसअघि प्रधानमन्त्रीलाई स्वागत गर्नका लागि सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी, मुख्यमन्त्री कमलबहादुर शाह धनगढी विमानस्थल पुगेका थिए ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रचण्ड आज सोमबार दिनभर कैलालीमा ब्यस्त रहने कार्यक्रम रहेको सो पार्टीका प्रदेश सचिब जनकबहादुर बुढाले जानकारी दिए । धनगढीमा आयोजना हुने समावादी मोर्चाको कार्यक्रमलाई सम्बोधन गर्न आउनुभएका प्रधानमन्त्री प्रचण्डले यसका साथै यहाँको दुई पालिकामा भवन शिलान्यास तथा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
प्रेस सेन्टर कैलालीका अध्यक्ष तेजराज भट्टका अनुसार प्रधानमन्त्री प्रचण्ड विहान साढे नौ बजे धनगढी बिमानस्थलबाट सिधै कैलालीको पूर्वीक्षेत्र लम्की प्रस्थान गरेका छन्। लम्कीमा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश उपाध्यक्ष स्वर्गीय महेश बडुवालको स्मृतिमा आयोजित श्रद्धञ्जलि सभामा सहभागी हुनुहुने छ । त्यसलगतै घोडाघोडी नगरपालिकास्थित घोडाघोडी बहुमुखी क्याम्पसको भवनको सिलन्यास गर्ने कार्यक्रम रहेको छ । त्यसपछि गौरीगंगा नगरपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
त्यसपछि दिउँसो करिब दुई बजे धनगढीमा आयोजना हुने समाजवादी मोर्चाको सभालाई सम्बबोधन गर्ने कार्यक्रम रहेको र आजै साँझ काठमाण्डौं फर्किनुहुने बताइएको छ ।