
धनगढी । सुदूरपश्चिम प्रदेशमा आज पनि गौरा पर्व हर्षोल्लासका साथ मनाइँदै छ। यस वर्ष तिथी परिवर्तनका कारण दुई पटक गौरा मनाइन लागेकाे हाे । यसअघि भदौ ७ गते गौरा पर्व नमनाएकाहरुले आज धुमधामका साथ गौरा मनाउदै छन्।
गौरा पर्वमा अष्टमीका दिन गौराको पूजाआजा गरी मनाइन्छ। सुदूरपश्चिमको मौलिक संस्कृति झल्किने गरी मनाइने गौरा पर्व सबै जिल्लामा धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार मनाउने चलन छ। पञ्चमीदेखि आरम्भ हुने गौरापर्व आज अष्टमीको दिन व्रत बसेर गौरा पर्व मनाउने स्थलमा पार्वती र शिवको पूजापाठ गर्ने चलन छ।
गौरा पर्वको मुख्य आकर्षणको रुपमा रहेको देउडामा पौराणिक कथा, देवी देवताका गाथा गाउने, चैतली, धुमरी, ढुस्को लगायतका भाकामा देउडा खेल खेल्ने चलन छ। नेपाल सरकार र प्रदेश सरकारले यसअघिकाे गाैरामा विदा दिएकाे थियाे भने धनगढी उप-महानगरपालिकाले आज गौरा पर्वको अवसरमा स्थानीय बिदा दिएको छ ।
