धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले भोलि मंगलबार सत्ता गठबन्धनको बैठक बोलाएर सरकारलाई पूर्णता दिने बताएका छन् । काठमाडौँमा रहेका मुख्यमन्त्री शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्तापछि लामो समयसम्म पूर्णता नपाएको सरकारलाई पूर्णता दिने बताएका हुन् ।
प्रधानमन्त्रीसँगको भेटवार्तामा मुख्यमन्त्री शाहसँग उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरी, अध्यक्ष एवं मन्त्री रञ्जिता श्रेष्ठ चौधरी, यहाँको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी, आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीलगायत रहेका थिए । मुख्यमन्त्री शाहले भने, ‘भोलि नै गठबन्धनको बैठक राखेको छु । हामीबीच सबै सहमति भएको छ । सरकार पूर्णता पाउँछ ।’
यसअघि नागरिक उन्मुक्ति पार्टीले २ मन्त्रालय र १ राज्यमन्त्री पाउनुपर्ने अडान राखेको थियाे । सो अडान पूरा नहुँदा हालसम्म सरकारमा जान मानेको छैन । तर मुख्यमन्त्री शाहले साे पार्टीलाई २ मन्त्रालय दिने वा के सहमती भयाे भन्नेबारे केही बताएनन् ।