धनगढी । मुलुकमा विकास आयोजना कति ढिला भइरहेका छन् भन्ने उदाहरण बनेको छ, हुलाकी राजमार्गअन्तर्गतको कान्द्रा पुल । कैलालीको भजनी नगरपालिकाको ठेकीपुरस्थित कान्द्रा नदीमाथि निर्माण सुरु भएको पुल ११ वर्षपछि बल्ल अन्तिम चरणमा पुगेको छ । जब कि पुल दुई वर्षभित्र बनिसक्नुपर्ने सम्झौता भएको थियो ।
निर्माण कम्पनीको लापरबाहीले लामो समयसम्म पुल निर्माणको काम अलपत्र पर्दा स्थानीयले सास्ती भोग्दै आएका छन् । अब भने सास्ती र जोखिमपूर्ण यात्राको बाध्यता अन्त्य हुने स्थानीयको विश्वास छ । नदीमा पुल नहुँदा स्थानीय बासिन्दा पैसा तिरेर वर्षामा डुंगा र अरू वेला काठको अस्थायी पुलबाट नदी तर्दै आएका छन् । ०६८ मा तीन करोड ४५ लाख रुपैयाँ लागतमा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको कान्द्रा नदीको पुल ११ वर्षपछि सम्पन्न हुने चरणमा पुगेकाे हाे ।
निर्माणाधीन पुलबाट अहिले पैदल ओहोरदोहोर गर्न दिइएको उल्लेख गर्दै भजनी– ५ लालबोझीका सन्तराम चौधरीले वर्षाअघि नै गाडी गुड्ने गरी पुलको काम सकिने आशा व्यक्त गरे । ‘यस वर्षदेखि यो बाध्यता हटेको छ,’ उनले भने, ‘११–१२ वर्षपछि पुल निर्माणको काम सकिन थालेको छ । अब नदी तर्दा भोग्नुपर्ने दुःख अन्त्य हुन्छ भन्ने विश्वास पलाएको छ ।’
‘पुल निर्माण सुरु भएदेखि प्रत्येक वर्ष पुलबाट ओहोरदोहोर गर्न पाइएला भन्ने आशा लाग्थ्यो, वर्षा लागेपछि नदी तर्दा उस्तै सास्ती भोग्नुपथ्र्यो,’ उनले भने, ‘ढिलै भए पनि यो पुल बन्यो, अब हामीलाई निकै सहज हुन्छ ।’