धनगढी। नेकपा एमालेका नेता भीम रावलले एमालेले आफूमाथि अझै अन्याय गरे नयाँ निर्णय लिने चुनौती दिएका छन्। मंगलबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी नेता रावललेउनले आफूसँग अझै सहने क्षमता रहेको बताउँदै अति गरे सोच्नुपर्ने अवस्था आउने उल्लेख गरे।
आफूले ५० वर्ष पार्टीमा लगानी गरेकाले कसैले भन्ने बित्तिकै पार्टी नछाड्ने जिकिर गर्दै उनले सोमबार अछामको साँफेबगरमा एमाले उपाध्यक्ष विष्णु पौडेल सहभागी कार्यक्रम बिथोल्नु शीर्ष नेताहरूकै गल्ती रहेको बताए। उनले शीर्ष नेताहरूले नै पार्टीलाई मजबुत, एकताबद्ध बनाउन लागेका व्यक्तिहरूमाथि आक्षेप तथा भ्रम फैलाउने कार्यको कार्यकर्ताले विरोध गरेको बताए।
पार्टी उपाध्यक्ष पौडेल, पार्टीका प्रदेश इन्चार्ज लेखराज भट्टलगायतका नेताहरूको सहभागितामा सोमबार अछाममा आयोजित कार्यक्रममा नेता रावलप्रति आक्षेप लागेपछि कार्यकर्ताहरूले कार्यक्रम बिथोलेका थिए।