धनगढी । सुदूरपश्चिम प्रदेशका प्रथम मुख्यमन्त्री त्रिलाेचन भट्टले उर्जाशिल र गतिवान पार्टी बनाउन एक ब्यक्तिलाई एक पदकाे जिम्मेवारी दिइनुपर्नेमा जाेड दिएका छन् । संघीयताकाे कार्यान्वयनसँगै गठित प्रदेश सरकारकाे पहिलाे कार्यकाल पुरा गरेर विगत दुई/अढाई महिनादेखि फुर्षदमा रहेका भट्टसँग सुदूर आवाजकाे टीमले गरेकाे समसामयिक छलफलका क्रममा यस्ताे बताएका हुन् ।
राष्ट्रिय राजनीतिमा सत्ताकाे नेतृत्व गरिरहेकाे नेकपा (माओवादी केन्द्र) का पाेलिटब्यूराे सदस्यसमेत रहेका नेता भट्टले बिशिष्ट अवस्था बाहेक पार्टी नेताहरुकाे जिम्मेवारी एक पदमा मात्रै सिमित भए पार्टीकाे गतिविधी बढाउन सजिलाे हुने र सबै नेता कार्यकर्ताले केही न केही जिम्मेवारी पाउनाले पार्टिमा सबैले आफ्नाेत्व बाेध गर्ने बताए ।
आफु मुख्यमन्त्री रहँदा पार्टीकाे केन्द्रीय सदस्यबाहेक कुनै जिम्मेवार पदमा नरहेकाे भन्दै उनले पार्टीकाे त्याे बेथिति अव सुदूरपश्चिमबाट हटाउन सुरु गर्नुपर्नेमा जाेड दिए ।
एक ब्यक्तिले तीन/चार पद ओगट्ने तर काम नगर्ने, केही कार्यकर्तालाई आफुमा गाेलबद्ध गराउने, भाषणमा आदर्श छाट्ने तर कामकाे लागि एक सिन्काे पनि नभाँच्ने सुदूरपश्चिममा विगतदेखिकाे प्रबृति अहिले पनि कायमै रहेकाे उनकाे आराेप थियाे । यस विषयलाई पार्टीकाे पदाधिकारी नेतृत्वसँग राख्ने समेत उनले बताए ।
आफू गरीव मजदूर पृष्ठभुमीकाे भएकैले पार्टीभित्रैकाले समय समयमा हेप्ने-चेप्ने गरेकाे स्मरण गर्दै उनले भने- ‘मुख्यमन्त्री हुँदा जनताका आशा अपेक्षा कति पुरा गर्न सके वा सकेन त्यसबारे समिक्षा हाेला तर, पार्टीका सुदूरपश्चिम नेतृत्वकाे साथ सहयाेग विना नै आफ्नाे पाँच बर्षे कार्यकाल निष्कलंक भएर कुसलताकासाथ पूरा गरे ।’
मुख्यमन्त्री कालकाे सुरुआतमा सुदूरपश्चिमका पार्टी नेता लेखराज भट्ट र पछिल्लाे समय खगराज भट्टबाट असहयाेग भएपनि पार्टीकै अन्य कार्यकर्ता नेता र जनताकाे अघाद माया र विश्वासले सुदूरपश्चिममा रहेका सबै पार्टीलाई मिलाएर पूर्णकार्यकाल सरकार चलाएकाे भन्दै उनले सार्वजनिक सम्पति अमुक ब्यक्तिकाे हितमा लगाउन नमानेकाले ती नेताहरु आफूसँग रिसाएकाे हुनसक्ने बताए ।