धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नाे सरकार पाँच वर्षसम्म चल्ने बताएका छन्। उनले चुनावमा गए जनताले नै लखेट्ने अवस्था रहेकाले मध्यावधि हुने सम्भावना नरहेको भन्दै आफ्नाे सरकार पुरै पाँच वर्षसम्म चल्ने दावी गरेका हुन् ।
सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले सरकारको स्थायित्वका लागि सबै राजनीतिक दलहरूसँग सकारात्मक संवाद भइरहेको बताए। उनले भने,सङ्घ सरकारमा कुन गठबन्धन बन्छ वा टुट्छ त्यससँग सरोकार नराखेर सुदूरपश्चिममा पाँच वर्ष सरकार टिकाउने गरेर छलफल गरिरहेका छौ ।अहिले फेरि चुनाव (मध्यावधि) मा जाँदा जनताले लखेट्छन्, कुनै पनि दल र प्रदेशसभा सदस्यले मध्यावधि चाहेका छैनन् उनले भने, त्यसैले सरकार टिक्नैपर्छ ।
प्रजातन्त्र दिवसको अवसरमा सञ्चारकर्मीहरूबाट सुझाव लिन पत्रकार सम्मेलन गरेको बताउँदै मुख्यमन्त्री शाहले निरन्तर सञ्चारकर्मीहरूबाट प्रदेशको वस्तुस्थिति बारे जानकारी लिने बताए । उनले सञ्चारकर्मीसँग सरकारलाई सुझाव दिन पनि आग्रह गरे ।
पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर शाह, र आर्थिक मामिला मन्त्री नरेन्द्रबहादुर शाहीको पनि उपस्थिति थियो।