धनगढी । सुदूरपश्चिममा सङ्घीय आठ पूर्वमन्त्रीहरु आमनिर्वाचनमा पराजित भएका छन् । विभिन्न निर्वाचन क्षेत्रमा १३ जना पूर्वमन्त्रीहरु चुनाव लडेकोमा आठ जना जित्न असफल भएका हुन् ।यसरी असफल हुनेमध्ये सबैभन्दा बढी कैलालीका पाँच जना पूर्व मन्त्री रहेका छन् ।
विगतमा दुई पटक निर्वाचन जितेका लेखराज भट्टको संसदीय यात्रा रोकिएको छ । यसअघि, भट्टले २०६४ मा संविधान सभा सदस्य र २०७४ मा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा जित हासिल गरेका थिए । पटक पटक मन्त्री भएका भट्ट यस पटकको निर्वाचनमा तीन हजार ५८४ मतान्तरले पूर्व मन्त्री वीर बहादुर बलायरसंग पराजित भए।
यसै गरी, कैलाली क्षेत्र नं. १ मा पूर्व मन्त्री राम जनम चौधरी अत्यधिक मतान्तरले पराजित भएका छन । उनलाई १२ हजार ३२३ मतान्तरले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले पराजित गरेकाे हाे । राजनीति तथा चुनावी रणनीतिमा चतुर मानिने चौधरी सामान्य प्रशासन सहायक मन्त्री, शिक्षा सहायक मन्त्री, भूमि सुधार राज्यमन्त्री र स्वास्थ्य मन्त्री भएका थिए ।
त्यस्तै, कैलाली क्षेत्र नं. ३ मा पूर्व मन्त्री गौरीशङ्कर चौधरी प्रतिनिधि सभा सदस्यको निर्वाचनमा हारेका छन् । पूर्व माओवादी चौधरी यस पटक नेकपा (एमाले) बाट चुनाव लड्दा नौ हजार ८७४ मत प्राप्त गरेर तेस्रो स्थानमा चित्त बुझाउनु परेकाे छ । यसअघि उनी कृषि र श्रम, रोजगार तथा सामाजिक सुरक्षा गरेर दुई पटक मन्त्री भएका थिए । चुनाव हार्नेमा कञ्चनपुर क्षेत्र नं. १ बाट विना मगर, दार्चुलाबाट गणेश ठगुन्ना र कैलालीका नारदमुनी राना पनि छन् ।
पूर्व वन तथा वातावरण मन्त्री रहेका राना नेपाली काँग्रेसका डिल्लीराज पन्तसँग एक हजार ७४ मतान्तरले पराजित भएभने सञ्चार राज्यमन्त्री पुष्करनाथ ओझा पनि पराजित भए । यस्तै गरेर बैतडीमा स्वतन्त्र उम्मेदवार रहेका केशवबहादुर चन्द पनि तेस्रो स्थानमा सीमित भए । उनी नेपाली काङ्ग्रेसबाट राज्यमन्त्री र २०७४ मा पाटन नगरपालिकाको मेयर भएका थिए ।