धनगढी। आजदेखि दोस्रो चरणको चुनाव प्रचार अभियाान सुरु भएको छ । आगमी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा मनोनयन दार्ता गरेयता घरदैलो कार्यक्रम गर्दै आएका राजनीति दल र उम्मेदवारहरुले आजदेखि चुनाव प्रचार अभियानलाई तिब्र बनाउँदैछन् । निर्वाचनको प्रचारका कार्यक्रम गर्न आजदेखि मंसिर १ सम्म निर्वाचन आयोगले खुल्ला गरेको छ ।
हालसम्म घरदैलो अभियान मात्रै गर्दै आएका उम्मेदवारहरुले आजदेखि मंसिर १ गतेसम्म आमसभा, जुलुस र कोणसभालगायतका कार्यक्रम गर्न पाउने छन् । यसैक्रममा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुरा बसपार्कमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । आज दिउँसो साढे १२ बजे जिल्ला सदरमुकामको बसपार्कमा आयोजित चुनावी आमसभामा शक्ति प्रदर्शन गरिने गठबन्धनले जनाएको छ। शक्ति प्रदर्शन गर्न गठबन्धनले गाउँगाउँबाट आफ्ना नेता तथा कार्यकर्ता र समर्थकलाई सदरमुकाम ल्याइरहेको छ।
प्रधानमन्त्री गृहजिल्ला आएपछि डडेल्धुराको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ। देउवा चार दिन जिल्लाका विभिन्न चुनावी सभामा सहभागी हुने कार्यक्रम छ। चुनावी देश दौडाहको सुरुवात गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज धनगढी आउने भएका छन्।ओलीले आज र भोलि धनगढीमा यहाँका नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने र भोलि दार्चुला जाने कार्यक्रम रहेको एमाले सुदूरपश्चिमका अध्यक्ष दामोदर भण्डारीले जानकारी दिए।
एमाले सरकारका पालामा आफू प्रधानमन्त्री हुँदा चुच्चे नक्सामा समेटिएको ठाउँ (दार्चुला) बाट चुनावी अभियान सुरु गरिने एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले बताए। अतिक्रमित भूमि फिर्ताको मुद्दालाई एमालेले विशेष रुपमा उठाउने पनि उनले बताए।