धनगढी । प्रदेश सरकार गठनकाे पाँचाैं वर्षसम्म सुदूरपश्चिममा बजेटकाे बेला जहिले पनि गिजलाे हुने गरेकाे छ । अन्य सबैजसाे प्रदेशमा आगामी आर्थिक वर्षकाे बजेट पास भैइसकेकाे भएपनि सुदूरपश्चिम प्रदेश सभामा पेश बजेटमाथि छलफल नै हुन सकेकाे छैन् । असार मसान्तसम्म बजेट प्रदेशसभाबाट पास गर्नुपर्ने संबैधानिक प्रावधान छ ।
प्रदेश सरकारले बजेटको मर्म, विधि र सिद्धान्त विपरित वित्तीय अराजकता निम्त्याउनेखालको बजेट ल्याएको भन्दै सत्तापक्षबाटै चर्को विरोध भएको छ । विरोधका कारण बजेटमाथि छलफल गरिने प्रदेश सभा बैठक पटक पटक गरी पाँच पटक स्थगित भएकाे छ ।सोमबार पनि अपरान्ह ३ बजे बोलाइएको बैठक स्थगित भएको छ । साेमबारकाे बैठकमा प्रतिपक्षी दलका सांसद अनुपस्थित भएपछि प्रदेश सभाको बैठक स्थगित गरिएका सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए ।
बजेट पास गराउने गिजलाे किन ?
आर्थिक वर्ष २०७९–०८० का लागि प्रदेश सरकारले ३६ अर्ब ७४ करोड ६४ लाख रुपियाँको बजेट प्रस्तुत गरेको छ । तर सरकारले ल्याएको बजेटले आफ्ना याेजना नसमेटेकाे झाेकमा केही संसद छन् । स्राेतका अनुसार कार्यव्यवस्था परामर्श समितिमा रहेका उनीहरु नै बजेटले वित्तीय अनुशासन कायम नगरेको भन्दै विरोधका स्वर उठाइरहेका छन् । कार्यव्यवस्था परामर्श समितिमा रहेका केहीले आर्थिक चलखेल गरेकाे तर बजेटमा त्याे याेजना नपरेपछि सत्यनाश भयाे संशाेधन गरिनुपर्ने भन्दै बार्गेनिङकाे बिराेध गरिरहेकाे स्राेतकाे दावी छ ।
हुन त यसअघिका बजेटकाे बेला पनि बिराेध हुँदै आएकाे थियाे । कहिले याेजनाकाे राताे किताव जलाईए त, कहिले प्रतिपक्षकाे हाे-हल्लावीच बजेट पास भएका थिए । यी सबै नाटक आफ्ना याेजना हाल्ने प्रयासकाे बार्गेनिङ थियाे जुन समयले छर्लंङग पारेकाे छ ।