बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचन अन्तर्गत शनिबार भएको मतगणनाको आइतबार सार्वजनिक अन्तिम परिणामअनुसार मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँ र उपमेयर उम्मेदवार मायाकुमारी खड्का (कुँवर) निर्वाचित भएका हुन् ।
एमालेका बानियाँले चार हजार ७७७ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर खातीले तीन हजार ७७४ मत पाएर पराजित भए । खातीलाई एक हजार तीन मतले पछि पार्दै बानियाँ प्रमुखमा निर्वाचित भएका हुन् । यस्तै उपमेयरमा मायाकुमारी खड्का चार हजार ७२७ मत ल्याएर निर्वाचित भएकी हुन् । रिता शाहले तीन हजार ७५५ मत ल्याइन् । उनीहरूलाई गठबन्धनको साथ थियो ।
१० ओटा वडा रहेको बुढीगंगाका ७ वडामा नेकपा एमाले र ३ वडामा काँग्रेसले जितेको छ। वडा १, २, ३, ५, ६, ९ र १० मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। यस्तै वडा नम्बर ४, ७ र ८ मा नेपाली काँग्रेस विजयी भएको छ। २०७४ मा ६ वडा जितेको एमालेले यो पटक भने ७ वटा जितेको छ।