डडेल्धुरा । नेपाली काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पाँच दलीय गठबन्धनबारे आज सहमतिकाे निर्णय आउने बताइएकाे छ । यसअघि जिल्ला तथा प्रदेश संयन्त्रमा सहमती नभएपछि केन्द्रमा सिफारिस गरेको थियाे ।
स्थानीय तहको संख्या, नेतृत्व र पालिका छनौटमा सहमती हुन नसकेपछि पाँच दलीय गठबन्धनबीच मित्रवत प्रतिस्पर्धा गर्ने वा गठबन्धन अनुसार अघि बढ्ने भनी केन्द्रमा पठाइएको र कुनै निर्णय नआएकाे माओवादी केन्द्रका जिल्ला संयोजक उमेशप्रसाद भट्टले बताए ।
‘जिल्लामा गठबन्धनभित्र सहमति जुटाउन सकिएन’ भट्टले भने–‘केन्द्रमा सहमतिका लागि पठाएका छौं । केन्द्रको सहमति अनुसार गठबन्धनलाई अघि बढाइने छ ।’ नेकपा माओवादी केन्द्रका प्रदेश इन्चार्ज खगराज भट्टको गृह जिल्ला समेत रहेको सो जिल्लामा उनीहरुले तीन वटा स्थानीय तहमा दाबी गरेका छन् । इन्चार्ज भट्टका अनुसार पर्शुराममा नगरपालिका, आलिताल र अजयमेरु गाउँपालिकामा दाबी रहेको छ ।
नेपाली काँग्रेसका सचिव शेरबहादुर भण्डारीले डडेल्धुरामा गठबन्धन हुने बताए । ‘पाँच दलीय गठबन्धनले टुङ्ग्याएकै आधारमा जिल्लामा काँग्रेसले सोही अनुसार उम्मेदवारी दिने छ’ उनले भने । यद्यपी काँग्रेस डडेल्धुरामा स्थानीय तहको निर्वाचनमा १४ अधिवेशनको प्रभावले गठबन्धनमा असर परेको देखिन्छ । १४ औं महाधिवेशनमा प्रधानमन्त्री देउवाले प्रदेश सभा सदस्य तथा तत्कालिन पार्टी सभापति कर्ण मल्ललाई हस्तक्षेप गरी एकलौटी ढंगले अघि बढेका थिए । अहिले सोही समुहले गठबन्धन भएपनि नमान्ने भन्दै हरेका स्थानीय तहमा आ–आफनै उम्मेदवार खडा गर्ने चेतावनी दिएको छ ।
‘अधिवेशनमा थुप्रै नेता–कार्यकर्तालाई अन्यायमा पारिएको छ,’ मल्लले भने, ‘१० गते सम्मको समय छ । अन्यायमा परेका नेताहरुलाई टिकट वितरणका क्रममा न्याय नदिए काँग्रेस (विपी)बाट करुवा चुनाव चिह्नमा निर्वाचन लड्छौँ । त्यसको नेतृत्व म आफैले गर्नेछु ।’
डडेल्धुरामा गठबन्धनबीच भएको सहमती र पालिकामा उम्मेदवार चयनको विषयमा पार्टी सभापति देउवासँग सल्लाह लिन जिल्ला पार्टी सभापति भीमबहादुर साउद, प्रदेश सरकारका सामाजिक विकास मन्त्री गोविन्द बोहरा, नेता रघुबर भट्ट सहितको टोली काठमाण्डौंमा छ । पार्टी सभापति देउवासँग छलफलपछि डडेल्धुरा जिल्लामा गठबन्धन र उम्मेदवारको टुंगो लाग्ने जिल्ला सभापति साउँदले बताए ।