धनगढी । बहुचर्चित खुटिया-दिपायल-चैनपुरहुँदै उत्तरी सीमा उरई भन्ज्याङ पुग्ने सडक सर्वेको चार दशकपछि ट्रयाक खुलेको छ । निर्माण सुरु गरेकाे दशकाैंसम्म लथालिङ याे सडक प्रदेश सरकार गठनपछि मात्रै गति लिएकाे छ । धनगढीदेखि चुरे ओजिनासम्म पर्ने २० किलोमिटर अन्तर्गतको ठेक्कामा रुख कटान आदेश नआएपछि ठप्प रहेकोमा प्रदेश सरकार विशेष गरेर मुख्यमन्त्री त्रिलाेचन भट्टकाे विषेश पहलमा काम बल्ल सम्पन्न भएको हो ।
सडक निर्माणसँगै यो द्रूतमार्ग, अहिले चालु रहेको धनगढी-डडेल्धुराहुँदै दिपायलको दुरीको भन्दा आधा छोटो दूरीको हुन्छ । साेमवार चुरे खण्डकाे अवलाेकन गरेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सोहि सडक भएर दिपायल जाँदैछन् । मुख्यमन्त्रीको स्वकिय सचिब प्रेम कुबर (प्रख्यात) ले दिएको जानकारी अनुसार मंगलबार उक्त खडक खण्डको अनुगमन गर्दै मुख्यमन्त्री भट्ट सहितको टोली सोहि मार्गबाट दिपायल सम्म पुग्ने कार्यक्रम तय भएको छ ।
खुटिया, दिपायल, चैनपुर, उरई भन्ज्याङ योजनाका इन्जिनियर दीनेश सिहं रैखोलाले धनगढीदेखि दीपायलसम्म ८६ किलोमिटर ट्रयाक खोलिएको बताए ।मोड सुधार र केही ठाउँमा ग्रेडको काम मात्रै बाँकी भएपनि धनगढीदेखि दीपायलसम्म फास्ट ट्रयाक नै भएर गाडी चलाउन मिल्ने गरी सडक तयार भइसकेको उनकाे भनाई छ । ठेक्का सम्झौता भएपछि यहाँका बासिन्दा साँच्चै सडक पुग्ने आशमा बसेका थिए । तर लामो समय बित्दासम्म सडक निर्माण शुरुनै भएन निर्माण शुरु भएपनि निकै सुस्त भएपछि यहाँका नागरिकले सडक बन्ने आशपनि मारिसकेका थिए । बल्ल सडकको ट्र्याक खुलेपछि यहाँका नागरिकले राहत हुने अपेक्षा लिएका छन् ।
सडकको पहुँच नहुँदा बिरामी हुँदा डोकोमा बोक्नुपर्ने बाध्यता टरेको उनिहरु बताउँछन् ।चुरे गाउँपालिका १ का बिरवहादुर अधिकारीले सडक गाउँ पुगेपछि खुशी ब्यक्त गरे । डोटीको दिपायल सम्म पुग्ने सडक हाम्रै गाउँ भएर जाँदैछ बल्ल हाम्रै गाउँमा रोकिएको ट्रयक खुलेर गाडी पुगेको छ, हामी धेरै खुशी छौँ । उनले भने “दुख त कति भोग्यौँ भोग्यौँ म भारतबाट घर फर्किदा खोला पारी बास बसेको छु खोलामा पुल नहुँदा कति बिरामीले अकालमै ज्यान गुमाएका छन् अब त्यस्तो हुन्न भन्ने अपेक्षा लिएका छौँ ।”
ट्र्याक खुलेर सडक पुगेपनि तत्काल स्तरोन्नती नभए नागरिकलाई सुख नहुने स्थानीय बताउँछन् । सडक निर्माणको सुस्तताझैँ सडक स्तरोन्नतीमापनि ढिलाई नगरी छिटो स्तरोन्नती गर्न उनीहरुको माग छ ।