बाजुराकाे कर्णालीमा १९०२ मेगावाट विद्युत उत्पादन गर्न सकिने
कार्यान्वयनमा ल्याउन मुख्यमन्त्रीकाे जाेड
धनगढी । बाजुराकाे जगन्नाथ र स्वामी कार्तिक गाउँपालिकावीचमा पर्ने मुगु कर्णालीबाट १९०२ मेगावाट क्षमताको जलबिधुत उत्पादन गर्न सकिने एक अध्यायनले देखाएकाे छ । नेपाल सरकार जलस्राेत विभाग अन्तरगतकाे विधुत उत्पादन कम्पनी लिमिटेडले हालै गरेकाे स्थलगत पूर्वसम्भाव्यता अध्यायनले यस्ताे देखाएकाे हाे ।
विधुत उत्पादन कम्पनी लिमिटेडका प्रमुख सूर्य पाण्डेयकाे नेतृत्वमा स्थलगत अध्यायनवाट फर्केकाे प्राविधिक टाेलीले सुदूरपश्चिम प्रदेश सरकारसँग साे ठाउँसम्म पुग्ने सडक लगायतका भाैतिक पूर्वाधार निर्माण गरिदिन आग्रह गरेकाे छ । प्रदेश सरकारसँगकाे छलफलमा टाेलीले उक्त जलासययुक्त जलविधुत आयाेजनाकाे निर्माणस्थल बाँधदेखि पावर हाउस, उत्पादन तथा प्रभावित र लाभान्वीत हुने क्षेत्र तथा समुदायबारे भिडियाे देखाएकाे थियाे । सुदूरपश्चिम प्रदेशमा यसअघि प्रचारमा आएका पश्चिम सेती, पञ्चेश्वर, अपर कर्णालीपछिकाे तेस्राे ठूलाे आयाेजना हुनसक्ने साे विज्ञटाेलीकाे भनाई थियाे ।
बाजुराकाे मुगु कर्णालीमा जलाशय बनाएर १९०२ मेगावाट क्षमताको जलबिधुत उत्पादन गर्न सकिने उक्त प्रस्तावप्रति सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्ट उत्साहीत हुँदै छलफलमै आर्थिक प्राविधिक तथा बतावरणीय लगायतका सबै तबरले आयाेजनाकाे अध्यायन गरी छिटाे भन्दा छिटाे कार्यान्वयनमा ल्याउनुपर्नेमा जाेड दिए ।
उनले भने- ‘प्रदेश सरकार आयाेजना स्थलसम्म जाने सडकदेखि आयाेजना निर्माणमा लगानी गरेर साझेदारी गर्न तयार छ ।’ छलफलमा प्रदेश सरकारका मुख्यमन्त्री भट्टसँगै आर्थिक मामला मन्त्री तारा लामा तामाङ प्रमुख सचिव रामेश्वर दंगाल सचिव गंगावहादुर खरेल लगायतकाे सहभागिता रहेकाे थियाे ।