सुदूरपश्चिम प्रदेशसभाको नवौं अधिवेशन चैत १३ गतेदेखि सुरू हुने
धनगढी। सुदूरपश्चिम प्रदेशसभाको नवौं अधिवेशन आगामी चैत १३ गतेदेखि सुरु हुने भएकाे छ । बिहिबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले वर्षे अधिवेशन अन्त्यको ६ महिना पुग्न दुई दिनअघि हिउँदे अधिवेशन सञ्चालन गर्न प्रदेश सरकारले तयारी अघि बढाएको बताइन्। गत असोज १५ गते देखि आठौं अधिवेशन अन्त्य भएको थियो। मन्त्री जोशीका अनुसार प्रदेशसभालाई हिउँदे अधिवेशनमा पर्याप्त बिजनेस दिन प्रदेश सरकारले ६ वटा विधेयकलाई सैद्धान्तिक स्वीकृति दिइसकेको छ।
यस्तै प्रदेश सभामा चार वटा विधेयक प्रक्रियामा छन्। प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक विषयगत समितिमा छन्। यसैगरी, दलित सशक्तिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ पनि विषयक समितिमा छ। सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्ड (पहिलो संशोधन) ऐन, २०७७ सचिवालयमा दर्ता भएको छ। सुदूरपश्चिम प्रदेश सभाबाट हालसम्म ५७ कानुन बनिसकेका छन् । प्रदेश सरकारले एकल अधिकारका कानुन बनाउने क्रममा लगभग अन्तिम चरणमा रहेको मन्त्री जोशीको भनाइ छ।
यस्तै, बिहिबारको बैठकले विभिन्न निर्देशिका तथा नियमावली स्वीकृत गरेको छ। बैठकले सुदूरपश्चिम प्रदेश अनुगमन तथा मूल्यांकन निर्देशिका २०७८, प्रदेश राजपत्र प्रकाशन सम्बन्धी नियमावली २०७८ र प्रदेश वन नियमावली २०७८ स्वीकृत गरेको छ।