धनगढी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी क्रान्तिका लागि तयार रहन सुदूरपश्चिम प्रदेशका माओवादी नेता कार्यकर्तालाई निर्देशन गरेका छन्। आउँदो स्थानीय तहको चुनावलाई लक्षित गरेर माओवादी केन्द्रले आयाेजना गरेकाे पार्टीकाे सुदूरपश्चिम प्रदेशस्तरीय राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रममा यस्ताे निर्देशन गरेका हुन् ।
सुदूरपश्चिमको आवश्यकता परिपूर्तिका लागि यसलाई एउटा प्रदेश बनाइए पनि त्यतिले मात्रै नपुगेकाले समाजवादी क्रान्ति र समाजवादी यात्रा अपरिहार्य रहेको प्रचण्डको भनाई छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भने ‘जबसम्म समाजवादीको यात्रामा अगाडि बढ्नु हुन्न तबसम्म संयौं वर्षदेखिको विभेद कायम रहिरहन्छ । र, सुदूरपश्चिमले समुचित रुपमा आफ्नो अधिकार पाउन सक्दैन ।’
जनवादी क्रान्तिका लागि अग्रणी भूमिका निर्वाह गरेको सुदूरपश्चिमलाई समाजवादी क्रान्तिको आधार इलाकाको रुपमा स्थापित हुन ठूलो अवसर रहेको प्रचण्डले चर्चा गरे ।
इतिहासदेखि नै काठमाडौंले सुदूरपश्चिमलाई विभेद गरेको उल्लेख गर्दै उनले भने– ‘अब समाजवादको आधार निर्माण गरेर काठमाडौंलाई एउटा सन्देश दिने अवसर सुदूरपश्चिमलाई छ ।’ प्रचण्डले समता र समानतामूलक समाजको सन्देश दिने ठूलो जिम्मेवारी सुदूरपश्चिमसामू रहेको बताए । ‘म यहाँका नेताहरुलाई गम्भीरताकासाथ विचार गर्न आग्रह गर्दछु’, उनले भने, ‘नयाँ पार्टी, विचार र समाजवादको मोडेल निर्माण गर्ने प्रक्रियामा तपाईहरुले आफ्नो क्षमताको कृतिमान बनाउनुपर्ने आवश्यकता छ ।’
प्रशिक्षण कार्यक्रमलाई माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट, सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट, सुदूरपश्चिम प्रदेश अध्यक्ष हरिराम चौधरी ‘उत्सव’ लगायतकाले सम्बोधन गरेका छन् ।