जडान गरिएका उपकरण प्रयाेग नगरिंदा धनगढीका हवाई यात्रुलाई सास्ति

धनगढी । सुदूरपश्चिमबाट सिधै संघीय राजधानी काठमाण्डाैं जाेड्ने एक मात्र धनगढी बिमानस्थलकाे उडान पछिल्ला केही दिनदेखि प्रभावित बन्दै गएकाे छ । रातिदेखि लाग्ने बाक्लाे हुस्सु अर्काे दिउँसाे १२/१ बजेसम्म नहट्ने कारणले बिहानका सबै उडानमा ढिलाई हुने गरेकाे हाे ।जसका कारण मौसम खराब भएको दिन हवाइ यात्रा प्रभावित हुने गरेको छ।

कम भिजीबिलिटीमा पनि उडान भर्न सकिने भीओआर–डिएमई उपकरण जडान भएपनि प्रयाेगमा नल्याईदा यात्रु सास्ति खेप्न बाध्य भएका हुन् । धनगढी विमानस्थलमा १६ सय मिटर भिजिबिलिटीमा पनि उडान भर्ने योजनासहित भीओआर–डिएमई उपकरण जडान गरिएको छ। जापानी सहयोग नियोग (जाइका)ले उक्त उपकरण जडान गरेको हो। तर अहिलेसम्म परीक्षण हुन नसकेका कारण उक्त उपकरण प्रयोगमा आउन सकेको छैन। उक्त उपकरण सञ्चालन भए हुस्सु र शितलहरका कारण हुने कम भिजिबिलिटीमा पनि हवाइ यात्रा गर्न सकिने धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए।

‘उक्त उपकरण जडानको काम सकिएको छ। जाइकाले परीक्षण गर्न मात्रै बाँकी छ। सञ्चालनमा आउन अझै एक÷दुई महिना समय लाग्न सक्छ’ उनले भने। उता जापानी सहयोग नियोग (जाइका)ले धनगढी विमानस्थलसँगै पोखरा र भैरहवामा पनि उक्त उपकरणको परीक्षण गर्ने बताइएको छ। त्यसकारण पनि भीओआर–डिएमई उपकरण पूर्णरुपमा सञ्चालन गर्न अझै दुई महिनाभन्दा बढी समय लाग्ने धनगढी विमानस्थलले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.