आज प्रचण्डको राजनीतिक प्रतिवेदन पारित, नेतृत्व चयन वाँकी
माओवादी महाधिवेशन
काठमाण्डाैंकाे कमलादिस्थित प्रज्ञा भवनमा जारी नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन पारित गरेको छ । अधिवेशनकाे पाँचाैं दिनकाे बन्दसत्रले सो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएपछि शुक्रबारकाे बन्दसत्रले पारित गरेको हो ।
प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन पारित पनि सो प्रतिवेदनमाथि छुट्टाछुट्टै प्रस्तुत गरिएका नेतात्रय राम कार्की, लेखनाथ न्यौपाने र हरिबोल गजुरेलको पुरक र फरक मत प्रस्तावबारे अध्यक्ष प्रचण्डले किटान गरेर नबोलेपनि सबैकाे भावना समेट्ने बताएका छन् । गत आइतबारबाट सुरु भएको महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष प्रचण्डले वैचारिक र राजनीतिक प्रतिवेदन तथा नेता देव गुरुङले विधान मस्यौदा पेस गरेका थिए ।
उक्त प्रतिवेदनमाथि मंगलबार २५ वटा समूहमा छलफल भएर बुधबार र बिहीबार दुई दिन समूहका नेताहरूले आ–आफ्नो समूहको सुझावसहित निष्कर्ष पेस गरेका थिए । बन्दसत्र शनिबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। शनिबार विधान मस्यौदामाथि समूहगत छलफलबाट आएका सुझाब र जिज्ञासामाथि स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले जवाफ दिने कार्यक्रम रहेको छ।