सुदूरपश्चिममा आज २३ जनामा सङ्क्रमण देखियाे, एकको मृत्यु
धनगढी । सुदूरपश्चिम प्रदेशमा आज सोमबार थप २३ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन बिधिबाट नौ सय ६८ जनाको नमूना परीक्षण गर्दा २३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
आरटी पीसीआर गर्दा १९ र एन्टीजेन बिधिमार्फत ४ जनामा सङ्क्रमण देखिएको हो । पीसीआर बिधिमार्फत सेती प्रादेशिक अस्पतालमा १८ र डडेल्धुरा अस्पतालमा एक, यस्तै एन्टीजेन बिधिमार्फत कञ्चनपुरका चार जनामा सङ्क्रमण पुष्टि भएको छ ।
विगत २४ घण्टामा प्रदेशभर छ जनाले कोरोना जितेका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । कैलालीको लम्कीचुहा नगरपालिकाका ७८ वर्षीय पुरुषको मृत्यु भएको हो । यसअघि आइतबार यस प्रदेशमा तीन सङ्क्रमण पुष्टि हुँदा आठ जना निको भएका थिए ।