काँग्रेस अधिवेशन: कैलालीका सात वडामा अझै अधिवेशन हुन बाँकी
धनगढी । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत वडा समिति र क्षेत्रीय प्रतिनिधि चयनका लागि कैलालीमा हिजाे शनिवार वडा अधिवेशन ताेकीए पनि केही वडामा विवाद भएकाे छ ।कांग्रेस जिल्ला कार्यसमितिको प्रचारप्रसार समितिका संयोजक नृप सुनारका अनुसार १२६ वडा रहेको कैलालीमा १२० वडामा अधिवेशन सम्पन्न भएको तर केहीमा मतगणना बाँकी रहेकाे छ ।
‘अधिवेशन सम्पन्न भएका वडामध्ये ९१ वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ,’ उनले भने, ‘बाँकी वडामा निर्वाचनमार्फत नेतृत्व चयन भएको छ।’ सुनारका अनुसार टीकापुर नगरपालिका–१, बर्दगोरीया–२, लम्की– १, गोदावरी– ६, जोशीपुर–१ र धनगढी–५ मा नेतृत्व चयन बाँकी रहेको छ। उनले गोदावरी नगरपालिकाको वडा नम्बर ६ मा मतदान हुन बाँकी रहेको बताए।
उक्त वडामा आइतबार बिहान ८ बजेबाट मतदान हुने सुनारले जानकारी दिए। यस्तै धनगढीको वडा नम्बर ५ मा अझै मतदान हुन सकेको छैन। त्यहाँ पनि सहमतिको प्रयास भइरहेको सुनारले बताए।कैलालीको मध्यवर्ती क्षेत्र वर्दगोरीया गाउँपालिकामा वडा अधिवेशन सम्पन्न भएको बताउँदै सुनारले क्षेत्रीय प्रतिनिधिमा भने विवाद भएको जानकारी दिए। यस्तै टीकापुर नगरपालिका–१ र लम्की चुहा नगरपालिका–१ को मत परिणाम आउन बाँकी रहेको सुनारले बताए।
यसअघि शनिबार राति मतगणना गर्ने क्रममा केही व्यक्तिहरूले धनगढी २ नम्बर वडामा मतपत्र च्यातेपछि मतगणना रोकिएको थियाे । मतपत्र च्यातिएपछि केहीबेर झडपको स्थिती सिर्जना भए पनि अहिले मतपत्र र मतगणना स्थानमा प्रहरीले सुरक्षा दिइरहेको छ। अब छलफल गरेर फेरि निर्वाचन गर्ने वा विजेता घोषणा गर्नेबारे निष्कर्ष निकाल्ने प्रचार प्रसार संयोजक नृप सुनारले बताए।