सुख्खा पहिरोले कर्णाली नदीको एक भाग थुनियो, २ सय परिवार जोखिममा
सुख्खा पहिरोले स्वामिकार्तिक गाउँपालिका रूणी गाउँका १ सय ५० घरधुरी उच्च जोखिममा रहेको स्थानीय नन्द बहादुर खत्रीले बताए। ‘गाउँको तलबाट कडा चट्टान खस्न थालिसकेको छ,खत्रीले भने,‘हामी निकै जोखिममा छौँ,पहिरो निरन्तर खसिरहे हामी पनि डुबेरै मर्छौँ,गाउँपालिकाले घटना हुनुअघि नै हाम्रो उद्धार गर्नुपर्छ।’
कर्णाली नदी थुनिन थालेपछि जगन्नाथ गाउँपालिका र जुड्डी प्रहरी चौकी जोखिममा परेका छन्। स्वामिकार्तिक खापर गाउँपालिका १ रुडि गाउँको तल र छुद्दरी गाउँको नजिकै सुख्खा पहिरो बग्न थालेपछि कर्णाली नदिको छेउमा रहेको जुड्डी प्रहरी चौकी र जगन्नाथ गाउँपालिका पनि जोखिममा रहेको गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले बताए। नदी थुनिएर गाउँपालिका र प्रहरी चौकी तिरको भाग कटान गर्न सुरु भएसँगै कार्यालयमा रहेको सबै सामान सुरक्षित ठाउँतिर सराइसकेको जोशीले जानकारी दिए।
जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीको पारीपट्टी स्वामिकार्तिक खापर गाउँपालिका १ को छुद्ररी नजिकैको भिर फुटेर कर्णाली नदीमा ढुगां, माटो नदीमा बिहानदेखि निरन्तर खसिरहेको छ। यस अघि साउन महिनामा पनि कर्णाली नदी थुनिएको थियो।