प्रदेश सरकारले ढुवानीमा अनुदान दिएपछि बाजुराका स्याउ बजारमा
धनगढी । सधैँभरि स्याउ पाकेपछि बेच्न कहाँ लाने भन्ने चिन्तामा रहने बाजुराका स्याउ कृषक गतवर्षदेखि त्यति चिन्तित छैनन्। सुदूरपश्चिम प्रदेश सरकाले जिल्ला कृषि ज्ञान केन्द्र बाजुरामर्फत स्याउ बेच्न ढुवानीमा अनुदान दिन थालेपछि किसान खुसी भएका छन्।
अधिकांश स्याउ आफूले खाने र केही स्याउ आफन्तलाई दिएर सक्ने अनि नसक्नेको बारीमै कुहिएर जाने गथ्र्यो। थोरैले मात्र स्याउ बेचेर केही आम्दानी गर्थे। गत वर्षदेखि भने ढुवानी अनुदान पाएपछि निकै सहज भएको किसानले बताएका छन्। स्वामीकार्तिक खापर गाउँपालिकादेखि पिलिचौर, जगनाथ गाउँपालिकाको स्याउ बारीदेखि पिलिचौर जुड्डी र बूढीनन्दा नगरपालिकाको पाण्डुसैनदेखि मार्तडीसम्म स्याउ ढुवानीका लागि यस वर्ष पनि अनुदानको व्यवस्था गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।
स्याउ बारीबाट सडकसम्म ढुवानी गर्ने गरेर यो वर्ष पनि किसानलाई चार लाख ४२ हजार पाँच सय रुपियाँ अनुदान दिइने जिल्ला कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोविन्द सिजापतीले बताए।स्याउ बारीबाट झन्डै सात कोससम्म ढुवानी गर्नका लागि प्रतिकिलोग्रामको १६.२४ रुपियाँका दरले अनुदानको व्यवस्था गरेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख सिजापतीले बताए ।
उनका अनुसार सरकारले अनुदान दिएपछि कृषक समुहहरु बारीकाे स्याउ टिप्दै धनगढी, महेन्द्रनगर, सुर्खेत, नेपालगञ्ज लगायतका बजारमा पुराईरहेका छन् ।