दलकाे नेता छान्न नेकपा (एस) सुदूरपश्चिम संसदीय दलकाे बैठक बस्दै
धनगढी । नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिम प्रदेश संसदीय दल गठन गर्ने तयारी गरेको छ। नेकपा एमाले विभाजनपछि गठन माधव कुमार नेपाल नेतृतवको एकीकृत समाजवादीले प्रदेशमा एक हप्ता भित्रै संसदीय दल गठन गर्ने जनाएको छ।
अहिले समाजवादी सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दलका रुपमा छ। नेकपा (एस) शुक्रबार दलको मान्यता पाएसँगै संसदीय दल गठन गर्ने प्रक्रिया थालेको नेकपा (एस)की केन्द्रीय सदस्य तथा सुदूरपशिचम सरकारकी आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले जानकारी दिइन्। उनले भनिन्, ‘शुक्रबार दलले आधिकारिकता पायो। हामी अहिले अनौपचारिक छलफलमा छौ।
भोलिबाट हामी अनौपचारिक र औपचारिक दुईटै किसिमले बैठक बस्छौ। मलाई लाग्छ, अबको एक हप्ता भित्रमा नै हामीले संसदीय दललाई पूर्णता दिन्छौँ।’ संसदीय दल गठन लगायतका विषयमा छलफल गर्नका लागि सोमबारबाट बैठक बस्ने र त्यसपछि टुंगो लाग्ने उनको भनाई छ ।
बैठक आइतबार बस्ने तयारी गरिए पनि कारणबश स्थगित गरिएको उनले बताईन्। ‘एमालेबाट अलग भएपछि हामीले छलफल गर्न पाएका छैनौँ,’ उनले दिनेशखबरसँग भनिन्, ‘भोलि ज्येष्ठ सदस्यबाट बैठक बोलाएर बैठक बस्दैछौँ। अनि छलफल र सहमतिमै दलको नेता चयन र संसदीय दल गठन हुन्छ।’
संसदीय दलको नेताका लागि मन्त्री जोशीसहित नेकपा (एस) गठनका क्रममा सांसदहरूलाई सनाखत गराउन अन्तिमसम्म खटिएका भौतिक पुर्वाधार तथा योजना मन्त्री दीर्घ सोडारी, पूर्व उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट र संसदीय दलका पूर्वप्रमुख सचेतकसमेत रहेका सांसद तारालामा तामाङ आकांक्षी छन्। १४ सांसदसहित सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको एकीकृत समाजवादी संसदीय दलको नेताबारे निकै चासोका साथ हेरिएको छ।