स्थानीय जनप्रतिनिधिलाई सनाखतका लागि बोलाईयाे
धनगढी । जिल्ला निर्वाचन कार्यालय कैलालीले नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गर्न इच्छुक स्थानीय जनप्रतिनिधिलाई बोलाएको छ। १३ वटै स्थानीय तहलाई पत्र पठाउँदै निर्वाचन कार्यालयले सनाखत गर्न इच्छुक जनप्रतिनिधिलाई बोलाएको हो।
नेकपा एकीकृत (समाजवादी) पार्टीमा जान इच्छुक नेकपा एमालेका प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि र जिल्ला समन्वय समितिका सदस्यहरुका लागि २२ गतेसम्मको समयसीमा तोकिएको छ। आयोगले दल बदल्न चाहने प्रदेशसभा सदस्यका लागि सम्बन्धित प्रदेशस्थित निर्वाचन कार्यालय र स्थानीय तहका जनप्रतिनिधिका लागि जिल्लास्थित निर्वाचन कार्यालयमा सनाखत गराउनुपर्ने पनि जनाएको छ।
प्रदेशसभा सदस्यले सनाखत गर्न जाँदा सक्कल नागरिकता वा मतदाता परिचयपत्र र निर्वाचित भएको प्रमाणपत्र वा प्रदेशसभा सचिवालयबाट जारी भएको परिचयपत्र वा प्रमाणितपत्र बोकेर जानुपर्ने बताइएको छ। त्यसैगरी, स्थानीय तहको सदस्यका लागि सक्कल नागरिकता वा मतदाता परिचयपत्र र निर्वाचित भएको प्रमाणपत्र वा सम्बन्धित स्थानीय तहबाट जारी भएको परिचयपत्र वा प्रमाणित पत्र अनिवार्य गरिएको छ।
बुधबार मात्रै तीन जना स्थानीय तहका जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेका थिए। मोहन्याल गाउँपालिकाका उपाध्यक्ष पुजा बुढा, कार्यपालिका सदस्य विशाल पहराई र वडा सदस्य चन्द्रकला कामीले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्। यसअघि मंगलबार सुदूरपश्चिम प्रदेश सभाका १० जना सदस्यले एमाले छाडेर एकीककृत समाजवादी रोजेका थिए। अन्य तीन जना प्रदेश सांसदले आज सनाखत गर्ने जनाएका छन्।