सतर्कताले सुदूरपश्चिममा ठुलो वर्षा हुँदापनि धनजनकाे क्षति भएन्

धनगढी। सुदूरपश्चिम प्रदेशमा पछिल्लो तीन दिनसम्म भारीदेखि अति भारी वर्षा भए पनि उच्च सतर्कताले मानवीय र भौतिक क्षति हुनबाट जोगिएको छ । ठुलो वर्षा हुँदा पनि पूर्वसूचना र तयारीका कारण  शून्य क्षति भएको हो ।

नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि ११ गतेसम्म देशैभरि भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरेपछि यो प्रदेशको सबै जिल्लामा उच्च सतर्कता अपनाइएको थियो । वर्षा हुनुपूर्व नै टोल टोलसम्म सूचना प्रवाह गरेर सबैलाई सजग बनाउनुका साथै पूर्वतयारीका साथ उच्च सतर्कता अपनाइएपछि तीन दिनसम्म वर्षा हुँदा पनि कुनै क्षति हुन नपाएको आन्तरिक मामिला तथा कानुनमन्त्री खुसीराम डङ्गौरा थारूले बताए। 

मनसुनजन्य विपदबाट हुन सक्ने क्षति न्यूनीकरणदेखि लिएर खोज, उद्धार र पुनस्र्थापनाका लागि प्रदेश सरकारले भरपुर तयारी गरेको छ । पहिले नै सबैलाई सुसूचित गरिनुका साथै गरिएको पूर्वतयारी र सतर्कता प्रभावकारी बनेको मन्त्री थारूले बताए । जल तथा मौसम विज्ञान कार्यालय महाकाली बेसिन अत्तरियाका अनुसार तीन दिनमा सुदूरपश्चिम प्रदेशमा भारीदेखि अति भारी वर्षा भएको छ । आइतबार मात्रै सबै जिल्लामा ६० मिलिमिटरदेखि दुई सय मिलिमिटरभन्दा बढी पानी परेको थियाे। 

तीन दिनसम्म भएको वर्षाको क्रममा यो प्रदेशमा  चौपायासमेत क्षति हुन नपाएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी वरिष्ठ प्रहरी उपरीक्षक पदमबहादुर विष्टले बताए । उनकाअनुसार यो वर्षाको क्रममा मानवीय, चौपाया र भौतिक क्षति भएको छैन । पहिरो र बाढीको जोखिममा रहेका डडेलधुराको जोगबुढा, दार्चुला, अछाम र कञ्चनपुरका केही परिवारलाई विपत्पूर्व नै सुरक्षित स्थानमा सारिएको थियो । उनले पहिरो खसेपछि केही मार्ग आंशिक रूपमा प्रभावित हुनुबाहेक ठुला दुर्घटना नभएको बताए। 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.