धनगढी । सुदूरपश्चिममा लगातार वर्षाका कारण नदी, खोला तथा जलस्रोतमा पानीको बहाव बढ्न थालेको छ । तत्कालै ठुलो बाढीको चेतावनी दिने अवस्था नरहे पनि आगामी दुई दिनसम्म वर्षा हुने पूर्वानुमान रहेकाले कैलाली, कञ्चनपुरसहित पहाडी जिल्लामा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख सञ्जयकुमार शाहका अनुसार पछिल्लो समय वर्षासँगै विभिन्न नदी तथा खोलामा पानीको बहाव बढेको छ । उनका अनुसार शनिबार र आइतबार कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा र अछामका केही नदी तथा खोलामा पानीको सतह सतर्कताको नजिक पुग्न सक्ने अवस्था देखिएको छ । यस्तै बैतडी, दार्चुला, बझाङ, बाजुरा लगायतका पहाडी क्षेत्रमा पनि वर्षाका कारण जोखिमको अवस्था रहेको उनले बताए । शाहका अनुसार पहाडी तथा चुरे क्षेत्रमा लगातार वर्षा भइरहेकाले पहिरोको जोखिमसमेत बढेको छ ।
आइतबार र सोमबारसम्म पनि लगातार वर्षा भइरहेमा नदी तथा खोलाको बहाव थप बढ्न सक्ने भएकाले जोखिमलाई बेवास्ता नगर्न उनले आग्रह गरेका छन् । ‘अहिले नै ठुलो डुबानको अवस्था छैन । तर वर्षा भोलि र पर्सिसम्म निरन्तर भइरह्यो भने नदी–खोलाको बहाव बढेर चेतावनीको तहमा पुग्न सक्ने सम्भावना रहन्छ,’ शाहले भने ।