धनगढी । डोटीमा दशैंतिहार लगायतका पर्व लक्षित सडक मर्मत तीव्र पारिएको छ । बोगटान फुड्सिल गाउँपालिका–४, सात्फरीमा वर्षायामका कारण क्षति पुगेका ग्रामिण सडक तथा बाटोहरुको मर्मत र सरसफाइ कार्य तीव्र पारिएको हाे।
घाट्लाया–कोलाखान–सात्फरी सडकखण्डमा मर्मत कार्य सुरु भएसँगै मिलन चोकसम्म यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको छ। वडा सदस्य रतन कामीका अनुसार सडकमा रहेका अवरोध हटाउने, बिग्रिएका स्थान मर्मत गर्ने तथा सरसफाइ गर्ने काम भइरहेको छ। मर्मत कार्य पूरा भएपछि मिलन चोकसम्म यातायात सञ्चालन गर्न सकिने उनले बताए।
दशैं तथा तिहार नजिकिँदै जाँदा स्वदेश तथा विदेशबाट गाउँ फर्किने नागरिकको आवतजावत सहज बनाउन सडक मर्मतलाई प्राथमिकता दिइएको वडा अध्यक्ष दीप बमले बताए। अध्यक्ष बमका अनुसार वडा नम्बर ४ का अन्य टोल तथा बस्तीमा समेत सडक र बाटोको मर्मत तथा सरसफाइ सुरु गरिएको छ। चाडपर्वमा गाउँ फर्किने नागरिकको चाप बढ्ने भएकाले सडक मर्मतपछि आवतजावत सहज हुने अनुमान गरिएको छ।