धनगढी । रसुवाको मितेरी पुलमा कर्तव्य पालनाका क्रममा भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता भएका नेपाल प्रहरीका सहायक हवल्दार हिक्मत महराको प्रतीकात्मक अन्त्येष्टि गरिएको छ। कैलालीको गोदावरी नगरपालिका–४ बासकोटाका महरा २०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका थिए।
लामो समयसम्म खोजी गर्दा पनि उनको अवस्था पत्ता लाग्न नसकेपछि परिवारले हिन्दु संस्कारअनुसार कुश र काँसबाट प्रतीकात्मक शव बनाएर शनिबार गाेदावरी नदीमा अन्त्येष्टि गरेको हो। बासकोटास्थित निवासबाट प्रतीकात्मक शवयात्रा गरेर गोदावरी आर्यघाट पुगेपछि धार्मिक संस्कारअनुसार अन्त्येष्टि गरिएको परिवारले जनाएको छ। अन्त्येष्टिमा आफन्त, शुभचिन्तक तथा स्थानीयको सहभागिता रहेको थियो।
महरासहित भोटेकोशी बाढीमा सुदूरपश्चिमका चार जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका थिए। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार नेपाल प्रहरीका हवलदार नरेन्द्रप्रसाद भट्ट, सहायक हवलदार हिक्मत महरा, प्रहरी जवान नारद सार्की र सशस्त्र प्रहरी जवान बिनिता बोहरा बाढीपछि सम्पर्कविहीन भएका थिए।