धनगढी । सरकारले आमालाई कम्तीमा ६ महिना र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति तथा स्याहार बिदा दिने व्यवस्था प्रस्ताव गर्दै सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधनको तयारी गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमका अनुसार सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधनका लागि विधेयक तयार भइसकेको छ ।
उक्त विधेयक मन्त्रिपरिषद्बाट पारित गराएर संसदमा लैजाने तयारी भइरहेको उनले बताएकी छन् । बदलिँदो जीवनशैली, कामको चाप र परिवारमा सन्तानको संख्या घट्दै गएको अवस्थामा मातृत्व तथा पितृत्वको विशेष समयमा अभिभावकलाई नवजात शिशु र परिवारका लागि पर्याप्त समय उपलब्ध गराउनु राज्यको जिम्मेवारी भएको उनको भनाइ छ ।
मन्त्री गौतमले बच्चा जन्माउने प्रक्रिया आमासँग प्रत्यक्ष रूपमा जोडिए पनि बच्चा हुर्काउने जिम्मेवारी आमाको मात्र नभएको बताएकी छन् । उनका अनुसार प्रस्तावित व्यवस्था सुरक्षित मातृत्व र अभिभावकत्वका क्षेत्रमा महत्वपूर्ण नीतिगत परिवर्तन हुनेछ । मन्त्री गौतमले भनेकी छन् ‘बच्चा जन्माउनु आमासँग जोडिएको प्राकृतिक प्रक्रिया हो, तर बच्चा हुर्काउनु आमाको मात्र जिम्मेवारी होइन ।’